गुल्मी । पहाडी जिल्लाको एक स्थानीय तहमै वार्षिक १८ देखि २२ किलोमिटर सडक कालोपत्रे गर्न असम्भव मानिए पनि गुल्मीको रेसुङ्गा नगरपालिकाले यसलाई सम्भव तल्याएको छ । नगरपालिका भित्र आर्थिक वर्ष २०७९/०८० मा २४ किलोमिटर ४३८ मिटर र आर्थिक वर्ष २०८०/०८१ मा १७ किलोमिटर ३१३ मिटर गरी ४१ किलोमिटर ७५१ मिटर सडक कालपत्रे र आरसिसी गरी पक्की सडक बनेको हो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ६ थामाकी ज्ञानकुमारी बिकले आफ्नै घर अगाडी पक्की ढलान सडक बन्ला भनेर कल्पना समेत गरेकी थिइनन् । तर, उनकै घर अगाडी बनेको आरसिसी ढलान पक्की सडकले अहिले उनलाई सपनामा पनि नदेखेको कल्पना विपनामा परिणत गरिदिएको छ । ‘अप्ठ्यारो सडकका कारणले गाडी दुर्घटनाको जोखिम थियो ।’ ज्ञानकुमारीले भनिन्, “सडककको सुविधाले हाम्रो बस्तीमै खुसीयाली छाएको छ ।” हिलो र धुलो खेलिरहन बाध्य भइरहेको अवस्थामा पक्की सडकले सुविधा थपेको उनले बताइन् । सोही ठाउँका हिराबहादुर बिकले रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीको पहलमा थामाको बस्तीमा बनेको पक्की सडकले अहिले बस्ती नै नमुना बस्तीका रुपमा परिचित भएको बताए । ‘पिछडीएको गरिब टोललाई चिटिक्क बनेकोमा आभारी छौं ।’ हिराबहादुरले भने, “यसअघि घरका छाना पनि खरमुक्त बनेका थिए ।” दुवै कामका पहलकर्ता नेपाली काँग्रेस गुल्मीका सभापति समेत रहेका नगरपालिका प्रमुख पन्थीलाई स्थानीयले मुक्तकण्ठले प्रशंसा गरेका छन् । हिउँदमा धुलाम्मे र बर्षायाममा हिलाम्मे हुने थामा गाउँबस्तीको सडकबाट स्थानीय आजित थिए । तर, अहिले त्यस बस्तीको ४८७ मिटर आरसिसी ढलानले स्थानीयको मुहार नै परिवर्तन गरिदिएको छ । त्यस क्षेत्रको सडकमा नाली निर्माण, वाल निर्माण र चिटिक्क पारिएको सडक निर्माणले बस्ती चिटिक्क बनेको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खलेमा स्वामीका रुख-मसिनापोखरी सडक, सेउघा-बलालकाबारी सडक, रायढुङ्गा-खाम्सेपानी सडक र डिएनडी चोक-भण्डारी टोल सडक आरससी ढलान, नाली निर्माण र कालोपत्रे भएका छन् । यो क्षेत्रमा दुई किलोमिटर सडक पक्की बनेको छ । यहाँको सडक पक्की बनेपछि तीव्र गतिमा भइरहेको बसाइँसराइ केही हदसम्म रोकिएको र कृषि उपजको बजारीकरणमा समेत सहजता भएको स्थानीय टीकाराम पन्थीले बताए । ‘पक्की सडकले धेरै सुविधा भएकोमा स्थानीय हामी सबै खुसी छौं ।’ स्थानीय टिकाराम पन्थीले भने, “कृषि उत्पादनको बजारीकरणमा सुविधा र बसाइँसराइ समेत पहिलेको तुलनामा कम भएको छ ।” यहाँ बनेको पक्की सडकले बस्तीमा सौन्दर्यता थपेको छ । टोलटोलमा सडकको सहज पहुँचले स्थानीयलाई राहत मिलेको छ । नगरपालिकाको वडा नम्बर ३ मा बेंहोरे सडक, भनभने-नुनथला-बाँझीपोखरी सडक, तम्घास भाडागाउँ बाँझाघाट आरसिसी ढलान र कालापत्रे गरी पक्की सडक बनेको छ । त्यस क्षेत्रमा कुल एक किलोमिटर सात सय मिटर सडक पक्की बनेको छ । सडक पक्की बनेसँगै स्थानीय कृषि तथा सुन्तला उत्पादनको बजारीकरणमा हुने समस्याको समाधान भएको स्थानीय इन्द्रबहादुर कुँवरले बताए । ‘पक्की सडक बनेपछि समयका हिसाबले सदरमुकाम तम्घाससँगको दुरी छोटिएको छ ।’ स्थानीय इन्द्रबहादुरले भने, “हाम्रो सुन्तला घरबाटै बिक्री गर्न सहज र बजारीकरणको ग्यारेण्टी भएको छ ।”
नगरपालिकाको वडा नम्बर १३ मा दुबीचौर सडक कालोपत्रे बनेपछि त्यहाँका टोलटोलमा सडकको सहज पहुँच पुगेको छ । त्यस क्षेत्रको ढिकीडाँडा-नुनथला सडक, वडा कार्यालय जाने सडक, पधेंराखोला-कालिका मन्दिर सडक र सिराना घुम्ती-कल्लेरी-गुल्मीदरबार सडक कालोपत्रे बनेका छन् । स्थानीय बिनबहादुर खत्रीले बर्षायाममा झेल्दै आएको समस्या पक्की सडक बनेपछि समाधान भएको बताए ।
रेसुङ्गा नगरपालिकामा दुई आर्थिक वर्षमा खाम्सेपानी-भुवनपानी-रातडाँडा सडक, तम्घास बजार क्षेत्र सडक, तम्घास-रेसुङ्गा सडक, खाम्सेपानी-नेटाखर्क सडक, आदर्शचोक-सेतोगुराँस सडक, सेउघा-सिमाघाट सडक र घुम्ती-तम्घास सडक पक्की बनेको छन् ।
तम्घास-खाम्सेपानी सडक, तम्घास-नेटा सडक, नेटा-अडबिसे सडक, रातडाँडा-सिमलपाटा कृषि सडक, देउराली-कमेरेपानी सडक, आदर्शबोडिङ्ग-पुतलीबजार सडक, कोलिनिका-रेसुङ्गा स्कुल सडक र आदर्शचोक-सेतो गुराँस सडक पनि पक्की बनेका छन् । त्यस्तै एभरग्रीन-कारागार सडक, थापाटोल सडक, खाम्सेपानी-बर्दबास सडक, पोखरेलटोल-सानी पिपल सडक, रानीगाडे सडक, साउनेखोला-लामडाँडा सडक, आठबिसे-अतरकाँडा-बालकाटे सडक र लाम्पटा-डाँडाखर्क-बरारुख सडक पक्की बनेका छन् ।
साथै साखिने-कुँडापानी सडक, भुजेलटोल-एभरग्रीन सडक, पाँचदोबाटो-हुँगेली टोल सडक, पाँचदोबाटो-थुम्का सडक, बजाज सोरुम-जिल्ला प्रहरी-शिवालय टोल सडक र पाण्डेटोल-मरासिनी टोल सडक पनि पक्की बनेका छन् । त्यस्तै बगालेखोला सडक, चारीखोला सडक, विद्युत् रिङरोड सडक, फेरा-भुल्के सडक, धरमपानी-तानाम्ग सडक, आमडाँडा सडक, आमडाँडा-थापाटोल सडक, दह-रैया सडक, उर्लेनी सडक, ह्वाक्ने छहरा-बुढीझिर्मी सडक र गर्जुरा-पराल्मी सडक पनि कलोपत्रे र अरसिसी ढलान गरी पक्की बनेका छन् ।
नगरपालिका भित्र आर्थिक वर्ष २०८०/०८१ म मात्रै सडकसहित अन्य विकास बजेट अन्तर्गत कुल एक अर्ब नौ रकोड ४६ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ । रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले आफूहरु निर्वाचित भएको दुई वर्षको अवधिमा पूर्वाधार क्षेत्रको पनि आधार स्तम्भ पहिलो पूर्वाधार सडक पूर्वाधारको क्षेत्रमा फड्को मारेको बताए । ‘पहाडी जिल्लामा असम्भव जस्तै मानिएपनि धेरै सडक कालोपत्रे र ढलान गर्न सफल भएका छौं ।’ नगर प्रमुख पन्थीले भने, “सहज सडकले विकासका अन्य आधार तय गर्ने गर्दछ ।” नगरपालिकाले अन्य क्षेत्रको विकासलाई पनि प्राथमिकताका साथ अगाडी बढाएको नगर प्रमुख पन्थीको भनाइ छ ।