गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ को वडाअध्यक्ष पदका लागि भएको उप–निर्वाचनको मतगणना अहिले साढे ८ बजेबाट सुरु गरिने भएको छ । मतगणना गर्नका लागि बसेको सर्वदलीय बैठकले अहिले साढे आठ बजेबाट मतगणना गर्ने सहमती भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
मतदान केन्द्रबाट सबै मतपेटीका मतगणना हुने स्थल वडानम्बर–१ को वडा कार्यालयमा ल्याइएको छ । मतगणना हुने स्थल पौदीअमराईमा उम्मेदबारका समर्थकहरुको बाक्लो उपस्थित रहेको छ । जसले गर्दा पौदीअमराई यतिबेला चहलपहल बढेको छ । वडाअध्यक्षका लागि ५७ दशमलव १ प्रतिशतले मतदान गरेका छन् । शान्तिपूर्ण भएको मतदानमा २ हजार ३३४ जनाले मतदान गरेको जिल्ला निर्वाचनको कार्यालयका निर्वाचन अधिकृत रिषिराम घिमिरेले बताए ।
वडामा ४ हजार ५१ जना मतदाता रहेका थिए । वडाअध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको थियो । वडाअध्यक्ष का लागि ८ जना चुनावी प्रतिसस्पर्धामा छन् । नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय पजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्री उम्मेदवार छन् ।
स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल, कुलबहादुर थापा उम्मेदवार बनेका छन् । त्यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन भएको हो ।