गुल्मी । महिला विकास मञ्च नेपाल गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा मनोसामाजिक परामर्श तथा कानुनी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। संस्थाले सञ्चालन गर्दै आएको ‘हाम्रो साहस’ कार्यक्रम अन्तर्गत रेसुङ्गा नगरपालिका–७ र ८ का महिला तथा टोल सुधार समितिका प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम गरिएको हो।
पछिल्लो समय व्यस्त जीवनशैली, पारिवारिक तथा सामाजिक दबाबलगायतका कारण मानसिक स्वास्थ्यमा देखिन सक्ने समस्यालाई मध्यनजर गर्दै सहभागीहरूलाई मनोसामाजिक स्वास्थ्य तथा परामर्शका विषयमा प्रशिक्षण दिइएको थियो। तालिमप्राप्त मनोसामाजिक परामर्शकर्ता दीक्षा थापा तथा तम्घास अस्पतालकी नर्सिङ स्टाफ कल्पना बोहोराले सहभागीहरूलाई तनाव व्यवस्थापन, मानसिक स्वास्थ्यको महत्त्व, समस्या पहिचान तथा आवश्यक अवस्थामा परामर्श लिनुपर्ने विषयमा सहजीकरण गर्नुभएको थियो।
यस्तै, महिलाको हक, अधिकार तथा विद्यमान कानुनी प्रावधानका साथै ती अधिकारको प्रभावकारी कार्यान्वयनका विषयमा समेत प्रशिक्षण दिइएको थियो। अधिवक्ता हीरा कुँवर र अधिवक्ता गोपालप्रसाद खनालले महिलामाथि हुने हिंसा, कानुनी उपचारका प्रक्रिया, महिलाका संवैधानिक तथा कानुनी अधिकार र अधिकार कार्यान्वयनमा देखिने चुनौतीलगायतका विषयमा सहभागीलाई जानकारी गराउनुभएको थियो।
कार्यक्रममा सहभागी महिलाहरूले मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या, महिला अधिकार तथा कानुनी विषयमा आफ्ना जिज्ञासा राखेका थिए। प्रशिक्षकहरूले सहभागीका जिज्ञासाको समाधान गर्दै समस्या लुकाएर राख्नुभन्दा समयमै परिवार, समुदाय तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोग र परामर्श लिनुपर्नेमा जोड दिनुभएको थियो।
महिला विकास मञ्च नेपाल गुल्मीकी सचिव बिन्दु पन्थीले यस्ता कार्यक्रमले महिलाहरूमा आफ्नो अधिकारप्रति सचेतना बढाउनुका साथै मानसिक स्वास्थ्यका विषयमा खुलेर कुरा गर्ने वातावरण निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले आगामी दिनमा सदरमुकाममा मात्र नभई गाउँ तथा टोलस्तरसम्मै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरी संस्थाले पहल गरिरहेको जानकारी दिनुभयो।
कार्यक्रम महिला विकास मञ्च नेपाल गुल्मीका अध्यक्ष अधिवक्ता हीरा कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो। सचिव बिन्दु पन्थीले सञ्चालन गर्नुभएको कार्यक्रममा कमला बरालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
महिला विकास मञ्च नेपाल गुल्मी वि.सं. २०७५ सालमा स्थापना भएको संस्था हो। संस्थाले स्थापना कालदेखि नै महिला तथा सीमान्तकृत समुदायको अधिकार प्रवर्द्धन, सचेतना अभिवृद्धि तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।









