बिमल सुनार, गुल्मी । गुल्मीको मालिका गाउँपालिका–२, दर्लिङ्गस्थित नेटा दर्लिङ्ग माध्यमिक विद्यालयको खेलमैदानमा श्री तुलसी स्मृति युवा क्लबको आयोजनामा १८औँ वार्षिकोत्सव तथा एकादशी मेला–२०८३ भव्य रूपमा सञ्चालन हुने भएको छ। मेला कात्तिक ३० गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ।
२०६५ सालमा स्थापना भएको क्लबले स्थानीय कला तथा संस्कृतिको संरक्षण र खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले निरन्तर एकादशी मेला सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष धनबहादुर विकले बताउनुभयो। उहाँका अनुसार मेलाअन्तर्गत खुला वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ। प्रतियोगिताको खेल तालिका कात्तिक २९ गते सार्वजनिक गरिनेछ।
मेलाको मुख्य आकर्षणका रूपमा मंसिर ४ गते सोरठी भैलो, रेकर्ड डान्स, महिला रस्साकस्सी, हाँस छोपाइ तथा महिला कुर्सीदौड प्रतियोगिता सञ्चालन गरिनेछ। त्यसैगरी, मंसिर ५ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, नौमती पञ्चेबाजा र भजनलगायतका विशेष कार्यक्रम आयोजना गरिने अध्यक्ष विकले जानकारी दिनुभयो।
मेलालाई सफल बनाउन आयोजकले सम्पूर्ण स्थानीयवासी, खेलप्रेमी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं व्यक्तित्वहरूलाई कार्यक्रममा उपस्थित भई मेलाको शोभा बढाइदिन समेत आग्रह गरेका छन्।









