इस्मा गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच सम्झौतापत्रमा हस्ताक्षर



टाेपलाल अर्याल


गुल्मी । गुल्मीको इस्मा गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । इस्मा गाउँपालिकाका करार कर्मचारी, सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षक तथा बालविकास शिक्षकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित अभिमुखीकरण गरेर सम्झौता तथा योगदानकर्ता परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो।

इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्का, प्रमुख प्रशासकीय अधिकृत सुरज अधिकारी र कोषको तर्फबाट बरिष्ठ प्रशासन सहायक सुनिता पाण्डे र लेखा सहायक मेख बहादुर दर्लामीबीच सम्झौता भएको हो । कार्यक्रममा जनप्रतिनिधिहरू, पालिकाका कर्मचारीहरू, सामुदायिक विद्यालयका अस्थायी तथा बाल शिक्षकहरू र गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। यसका साथै, योगदानकर्ताहरूलाई औपचारिक रूपमा परिचयपत्र वितरण तथा सामाजिक सुरक्षा कोषका बारेमा विस्तृत अभिमुखीकरण प्रदान गरिएको थियो। स्थानीय तहमा कार्यरत श्रमजीवी कर्मचारी तथा शिक्षकहरूको भविष्य सुरक्षित पार्न, योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गराउन र उनीहरूको सामाजिक तथा आर्थिक सुरक्षाको सुनिश्चितताका लागि यो कार्यक्रम आयोजना गरिएको कोषका लेखा सहायक मेख बहादुर दर्लामीले बताउनुभयो ।

गाउँपालिकाको विशेष पहल र आयोजनामा सञ्चालित उक्त कार्यक्रममा सामाजिक सुरक्षा कोषका प्रतिनिधिहरूद्वारा सहजीकरण गरिएको थियो। कार्यक्रममा सहभागीहरूलाई कोषका लाभ, प्रक्रिया र योगदान रकम जम्मा गर्ने तरिकाबारे प्रयोगात्मक रूपमा जानकारी गराउनुका साथै आपसी सहकार्यका साथ सम्झौतापत्र आदानप्रदान गरी उल्लासपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न गरिएको दर्लामीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले सम्झौताले इस्मा गाउँपालिकाभित्र कार्यरत सम्पूर्ण अस्थायी, करार तथा बाल शिक्षक र कर्मचारीहरूको वृत्तिविकास, उत्पादकत्व र सामाजिक सुरक्षामा एक नयाँ माइलस्टोन स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो । गुल्मीबाट हालसम्म धुर्कोट, रुरुक्षेत्र, कालीगण्डकी, चन्द्रकोट र इस्मा गरी ५ वटा स्थानीय तह योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया