गुल्मी । चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को नियमित बजेट तथा कार्यक्रमअन्तर्गत दुर्गम तथा स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका बस्तीलाई लक्षित गरी निःशुल्क सूक्ष्म स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ।
अभियानअन्तर्गत बुधबार असोज २१ गते चन्द्रकोट गाउँपालिका–८ तुराङको कालिका गाउँमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा शान्तिपुर आँखा उपचार केन्द्रबाट आँखा जाँच, नागरिक आरोग्य केन्द्र शान्तिपुरबाट आयुर्वेदसम्बन्धी परामर्श तथा सामी कार्यक्रमका सहजकर्तामार्फत मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको थियो।
शिविरमा २८ जनाले आयुर्वेद सेवा, ५० जनाले आँखा उपचार सेवा र ८० जनाले स्वास्थ्य परामर्श सेवा लिएका छन्। गाउँपालिकाले चन्द्रकोट आधारभूत अस्पतालका मेडिकल अफिसरसहितको स्वास्थ्य टोली परिचालन गरी गाउँपालिकाका स्वास्थ्य संस्थाभन्दा टाढा रहेका, दुर्गम तथा विकट क्षेत्र र आदिवासी जनजाति तथा विपन्न नागरिकको बसोबास रहेका बस्ती छनोट गरी शिविर सञ्चालन गरिरहेको हो। स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्याउने उद्देश्यले अभियानकै रूपमा शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
यसअघि असोज १५ गते चन्द्रकोट–३ को गैडुङ, असोज १६ गते वडा नम्बर ४ को डाँडाबन, असोज १९ गते वडा नम्बर ५ को मगरगाउँ र असोज २० गते वडा नम्बर ७ को बाँसदीमा स्वास्थ्य शिविर सम्पन्न भइसकेका छन्। सबै शिविरमा स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको गाउँपालिकाले जनाएको छ।
स्वास्थ्य संस्थासम्म पुग्ने चेतनाको अभाव, भौगोलिक दूरी तथा सहज पहुँचको कमीका कारण रोग लुकाएर घरमै बस्न बाध्य वृद्धवृद्धा, आर्थिक रूपमा विपन्न तथा अशक्त नागरिकका लागि शिविर प्रभावकारी बनेको स्थानीयले बताएका छन्।
चन्द्रकोट आधारभूत अस्पतालका एमबीबीएस चिकित्सक डा. रोशनकुमार यादव, डा. अरुण गैरे, स्वास्थ्य शाखा प्रमुख प्रकाशचन्द्र शर्मा तथा अन्य स्वास्थ्यकर्मीको उपस्थितिमा शिविर सञ्चालन भइरहेको छ।
गाउँपालिकाले डाक्टरसहितको स्वास्थ्य टोली गाउँमै पुगेर सेवा दिँदा स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सहज भएको गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले बताए। गाउँपालिकाले प्रदान गर्दै आएको स्वास्थ्य सेवालाई आम नागरिकको अझ नजिक पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको उनले बताए।
‘गाउँमै डाक्टर ल्याएर शिविर सञ्चालन गरेकोमा निकै खुसी लागेको छ,’ स्थानीय केशवराज सापकोटाले भने।
शिविरहरूमा सुगर, प्रेसर तथा मनोसामाजिक समस्यासहित नसर्ने रोगका बिरामीको संख्या बढी देखिएको चन्द्रकोट आधारभूत अस्पतालका मेडिकल अफिसर डा. अरुण गैरेले बताए। उनका अनुसार केही मात्रामा भाइरलजन्य बिरामीसमेत भेटिएका छन्।
गाउँपालिकाले स्वास्थ्य सेवा नागरिकको घरदैलो नजिक पुर्याउने अभियानलाई निरन्तरता दिँदै असोज २२ गते विशुखर्कको धौलादीप, २३ गते दिव्रुङ दह र २४ गते हरेवाको खादिकोटमा सूक्ष्म स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ।
स्वास्थ्य शाखा प्रमुख प्रकाशचन्द्र शर्माका अनुसार स्वास्थ्य संस्थासम्म सहज पहुँच पुग्न नसकेका नागरिकलाई लक्षित गरी आगामी दिनमा पनि यस्ता शिविरलाई निरन्तरता दिइनेछ।









