गुल्मी । महिला विकास मञ्च नेपाल गुल्मीले रेसुंगा महापोखरी क्षेत्रमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागीतामा साउन महिनाभर रेसुंगामा लाग्ने धार्मिक मेलामा दर्शनार्थीले पूजाआजा तथा भ्रमणका क्रममा छोडेका प्लास्टिकजन्य सामग्रीसहित पोखरी आसपासमा जम्मा भएको फोहोर संकलन गरी सरसफाइ गरिएको हो ।
संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत रेसुंगा क्षेत्रको संरक्षण तथा संवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले ‘हाम्रो साहस’ कार्यक्रमअन्तर्गतका पैरवी समूहमा आबद्ध महिलाहरूको सहभागितामा कार्यक्रम गरिएको संस्थाकी अध्यक्ष हीरा कुँवरले बताउनुभयो । सरसफाइसँगै विभिन्न जातका फूलका बिरुवासमेत रोपिएको छ ।
धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण गर्दै पर्यटन विकासमा टेवा पुर्याउने र युवा पुस्तामा वातावरण संरक्षणप्रति सकारात्मक सोच विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको संस्थाले जनाएको छ । महिला विकास मञ्च नेपालले सामाजिक उत्तरदायित्वका कामसँगै महिला अधिकार, कानुनी व्यवस्था, उद्यमशीलता तथा नेतृत्व विकाससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल संस्थाले ‘हाम्रो साहस’ कार्यक्रममार्फत गुल्मीदरबार गाउँपालिका–३ र ४ तथा रेसुंगा नगरपालिका–७ र ८ मा दलित, जनजाति तथा सीमान्तकृत समुदायका महिलाको सशक्तीकरण र क्षमता विकासमा काम गरिरहेको छ ।








