गुल्मी । मदन भण्डारी राजमार्गको तम्घास देखि सिमलटारी सम्मका विभिन्न ४ स्थानमा पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । जिल्ला सदरमुकाम तम्घासबाट पश्चिम तर्फ जाने मदनभण्डारी राजमार्गका खहरे खोलाहरुमा पुल नबन्दा यात्रुले सास्ती खेप्दै आएका थिए ।
५ वर्ष पहिले कालोपत्रे गरिएको राजमार्गको हुलाके, धनार्जी, फुलवारी र घमिरका खहरे खोलामा पुल नबन्दा साना ठूला सवारी साधानहरु र पैदल यात्रुलाई समेत आउ–जाउ गर्न समस्या परेको थियो । अहिले यी चार स्थानका पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । पक्की पुलहरु मध्ये हुलाके र फुलवारी खोलाको पुल सञ्चालनमा आइसकेका छन् । अरु दुइवटा पुल पनि केहि दिनमै सञ्चालनमा आउने तयारीमा छन् । जसले गर्दा साना ठूला सवारीसाधनहरु लाई आउजाउ गर्न सहज भएको मालिका ६ का स्थानीय ओमबहादुर कार्कीले बताए । उनले यी स्थानमा पक्की पुल समयमै नबन्दा कयौं सवारीसाधनहरु खोलामा डुब्ने तथा बगाउने समेत गरेको बताए ।
अब भने यी पक्की पुलले दुर्गम मानिएको पश्चि भेगको यात्रालाई सुगम तुल्याएको कार्कीले बताए । ४ वटा पुल मध्ये फुलवारी र घमिर खोलामा पुल निर्माणका लागि पन्त निर्माण सेवाले निर्माण कार्य गर्दै आएको छ । हुलाके र धनार्जी खोलामा पुल निर्माणका लागि सुनिल समीर निर्माण सेवा प्रालि तम्घास गुल्मीले निर्माण कार्य गर्दै आएको छ । पुल निर्माणमा निर्माण व्यवसायिले पटक–पटक म्याद थपेर भएपनि यसपटक निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । पक्की पुलकै अभावमा वर्षातको समयमा पश्चि गुल्मीका कैयौं नागरिक बिरामी पर्दा खोला किनारमै बसेर खोला घटेपछि तर्नुपर्ने अवस्थको अत्य भएको मालिका ५ का पूर्व वडाअध्यक्ष एवं स्थानीय शोभाखर गिरीले बताए । उनले अब पुल निर्माण कार्यले यहाँका नागरिकमा खुसीयाली थपिएको बताए ।
चारवटै पुलको मुख्य निर्माण कार्य अन्तिम चरणमा पुगेको मदन भण्डारी राजमार्ग तम्घास कार्यालयका कार्यालय सूचना अधिकारी इन्जिनियर हुमानाथ पौडेलले बताए । दुइवटा पुलको एप्रोज रोड र रिर्भटेजिङ काम धमाध भइरहेको पौडेलले बताए ।
घमिर खोलमा १५ मिटर लम्बाइको पुल निर्माणको लागि ३ करोड १३ लाख ८४ हजारको लागत रहेको छ । फुलवारी खोलामा २० मिटर लम्बाईको पुल निर्माणको लागि ३ करोड ३२ लाख ६८ हजार लागत रहेको छ । घमिर खोलाको ६५ प्रतिशत भौतिक प्रगति रहेको छ । फूलवारी खोलाको ९० प्रतिशत भौतिक प्रगति रहेको छ । धनार्जी रोधी खोलामा बन्ने ३५ मिटर लम्बाइको पुल निर्माणको लागि ७ करोड ४८ हजार र हुलाके खोलामा २५ मिटर लम्बाइको पुल निर्माणको लागि ५ करोड ७९ लाख ५३ हजार को लागत रहेको छ ।
धनार्जीमा बन्ने पुल को भौतिक प्रगति ७० प्रतिशत रहेको छ । हुलाके खोलाको पुलको ९० प्रतिशत भौतिक प्रगति रहेको छ । राजमार्गका ४ वटा पक्की पुलको कुल लागत १९ करोड २६ लाख ५३ हजार रहेको छ । यो राजमार्ग भएर गुल्मी जिल्लाका पश्चिम भेगसँगै छिमेकी जिल्ला प्यूठानसम्म पुग्ने सवारीसाधनहरु आउजाउ गर्दछन् ।