इस्मामा शिक्षक दरबन्दी मिलान : विद्यार्थी संख्या र नतिजालाई बनाइयो मुख्य आधार



सुमन महतारा


गुल्मी । इस्मा गाउँपालिकाले गाउँपालिकाभित्रको शैक्षिक गुणस्तर सुधार, विद्यालयको आवश्यकता र विद्यार्थीको सिकाइ उपलब्धिलाई केन्द्रमा राखेर शिक्षक दरबन्दी मिलान तथा अन्तरविद्यालय सरुवा गरेको जनाएको छ। गाउँपालिकाले विद्यार्थी संख्या, विद्यालयको आवश्यकता र विगतको शैक्षिक नतिजालाई मुख्य आधार बनाएर दरबन्दी व्यवस्थापन गरिएको स्पष्ट पारेको हो।
गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले दरबन्दी मिलानलाई विद्यालयको वास्तविक आवश्यकता र विद्यार्थीको हितसँग जोडेर अघि बढाइएको बताएका छन्।

विद्यार्थी कम भएका विद्यालयमा आवश्यकताभन्दा बढी शिक्षक रहने र शिक्षक अभाव भएका विद्यालयमा पठनपाठन प्रभावित हुने अवस्था अन्त्य गर्न दरबन्दीको पुनःव्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ। गाउँपालिकाको भनाइअनुसार नयाँ शैक्षिक सत्रको भर्ना अभियानपछि गाउँपालिकाभित्रका विद्यालयको प्रत्यक्ष अनुगमन गरिएको थियो। अनुगमनका क्रममा Integrated Educational Management Information System (IEMIS) मा रहेको विद्यार्थी संख्यालगायतका तथ्यांकलाई आधार बनाइएको थियो।

दरबन्दी मिलानको प्रक्रिया भने पछिल्लो निर्णयबाट मात्र सुरु नभएको गाउँपालिकाले जनाएको छ। २०८२ माघ १२ गते सम्पूर्ण विद्यालयका प्रधानाध्यापकसँग बैठक गरी मौजुदा दरबन्दी, विद्यार्थी संख्या तथा विद्यालयगत आवश्यकताबारे छलफल गरिएको थियो। छलफलपछि विद्यालयगत तथा तहगत न्यूनतम शिक्षक तथा कर्मचारीको आवश्यकता निर्धारण गरी दरबन्दी मिलानको प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ।

त्यसपछि २०८२ चैत २७ गते र २०८३ साउन २२ गते बसेको शिक्षा समितिको बैठकमा दरबन्दी व्यवस्थापनका विषयमा थप छलफल गरिएको थियो। शिक्षा समितिको छलफल तथा सिफारिसका आधारमा २०८३ साउन २९ गते बसेको गाउँ कार्यपालिका बैठकले दरबन्दी मिलान गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।
निर्णयअनुसार विद्यार्थी संख्या न्यून रहेका र दरबन्दी बढी भएका विद्यालयबाट शिक्षक कटौती गरी दरबन्दी अपुग भएका विद्यालयमा व्यवस्थापन गरिएको छ। यस क्रममा प्राथमिक तहका ७ वटा शिक्षक दरबन्दी, २ जना बालविकास सहयोगी कार्यकर्ता र २ जना कार्यालय सहयोगीलाई आवश्यकता अनुसार समायोजन गरिएको गाउँपालिकाले जनाएको छ।

( Jeevan rajan

गाउँपालिकाले शिक्षक तथा कर्मचारीलाई सकेसम्म घरपायक र अनुकूल हुने गरी सरुवा तथा खटाउने व्यवस्था मिलाइएको जनाएको छ। धेरै टाढा खटाउँदा पठनपाठन तथा सेवा प्रवाहमा असर पर्न सक्ने भएकाले उक्त पक्षलाई समेत निर्णयका क्रममा ध्यान दिइएको प्रवक्ता पार्वती कुँवरले बताएकी छन्।
यसैगरी गाउँपालिकाले विगत तीन वर्षको कक्षा १० को SEE नतिजा तथा गाउँपालिकाले सञ्चालन गर्ने कक्षा ८ को परीक्षाको विद्यालयगत नतिजाको समीक्षा गरेको जनाएको छ। विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकबाट प्राप्त गुनासो र विद्यालयको समग्र कार्यसम्पादनको समेत विश्लेषण गरिएको गाउँपालिकाको भनाइ छ।

समीक्षाका क्रममा केही शिक्षकको कार्यसम्पादन तथा प्रशासनिक सहयोग सन्तोषजनक नरहेको पाइएको र केही शिक्षकको अतिरिक्त क्षमता, योग्यता तथा अनुभवलाई अन्य विद्यालयको आवश्यकताअनुसार उपयोग गर्न सकिने देखिएपछि समेत हेरफेर गरिएको गाउँपालिकाले जनाएको छ।

दरबन्दी मिलानमा राजनीतिक प्रभाव वा पहुँचलाई आधार बनाइएको भन्ने विषयमा गाउँपालिकाले भने कुनै राजनीतिक दल वा नेताको निकटताका आधारमा निर्णय नगरिएको स्पष्ट पारेको छ। शिक्षाजस्तो संवेदनशील क्षेत्रमा दलीय राजनीतिभन्दा माथि उठेर शिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने गाउँपालिकाको धारणा छ।

गाउँपालिकाका अनुसार दरबन्दी मिलानका विषयमा विभिन्न राजनीतिक दल तथा सरोकारवालाबाट समय–समयमा गाउँपालिकामा डेलिगेसन आएको थियो। सार्वजनिक सुनुवाइमार्फत समेत विद्यालयको आवश्यकता अनुसार शिक्षक व्यवस्थापन गर्नुपर्ने माग उठेको गाउँपालिकाले जनाएको छ।
सोही क्रममा गाउँ शिक्षा समितिमा घनिभूत छलफल गरी गाउँ कार्यपालिकाबाट सर्वसम्मत निर्णय गराएर दरबन्दी मिलान कार्यान्वयनमा लगिएको प्रवक्ता कुँवरले जानकारी दिएकी छन्।
अध्यक्ष खड्काले दरबन्दी मिलान कुनै व्यक्ति वा समूहलाई लक्षित गरेर नभई विद्यार्थीको हित, विद्यालयको आवश्यकता र शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राखेर गरिएको बताएका छन्। उनका अनुसार उपलब्ध शिक्षक जनशक्तिलाई आवश्यकता भएका विद्यालयमा व्यवस्थापन गर्दा विद्यार्थीको सिकाइ उपलब्धि र पठनपाठनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाले शिक्षक दरबन्दी मिलानलाई इस्माको सार्वजनिक शिक्षालाई थप व्यवस्थित, नतिजामुखी र गुणस्तरीय बनाउने अभियानका रूपमा व्याख्या गरेको छ। निर्णय कार्यान्वयनमा सहयोग गर्ने शिक्षक, अभिभावक, राजनीतिक दल, शिक्षाप्रेमी तथा सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिँदै आगामी दिनमा पनि शैक्षिक सुधारका कार्यमा सहयोगको अपेक्षा गरेको गाउँपालिकाले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया