गुल्मी । इस्मा गाउँपालिका–२ पालुखामा अवस्थित ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहर खजुरेदेवी कोटको पुनर्निर्माण कार्य सम्पन्न भई उद्घाटन गरिएको छ। गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार सम्पन्न पुनर्निर्माणको आज गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले भव्य समारोहका बीच उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले खजुरेदेवी कोटको पुनर्निर्माणलाई सांस्कृतिक धरोहरको संरक्षण र सामूहिक गौरवको प्रतीकका रूपमा उल्लेख गर्दै यसले समुदायमा संस्कृतिको पुनर्जागरण ल्याउने र भावी पुस्तालाई प्रेरित गर्ने बताए।
गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले पुनर्निर्माणलाई सांस्कृतिक पहिचानको संरक्षण मात्र नभई युवापुस्तामा संस्कृतिको पुनर्जागरणको उदाहरणका रूपमा प्रस्तुत गरिन्।
त्यसैगरी वडाध्यक्ष लोकनाथ आचार्यले खजुरेदेवी कोटको पुनर्निर्माणले सामुदायिक गौरव अभिवृद्धि गर्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याउने उल्लेख गर्दै श्रद्धालुहरूको सहज पहुँच र सुविधा सुनिश्चित गर्न यस्ता परियोजना आवश्यक रहेको बताए।
उद्घाटन कार्यक्रममा सहभागी श्रद्धालु भक्तजनहरूले घटस्थापनाको पावन अवसरमा शक्ति, शान्ति, समृद्धि र नयाँ उत्साहको कामना गरे। यस परियोजनाबाट स्थानीय संस्कृतिको संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन र समुदायमा आत्मगौरवको भावना थप बलियो हुने विश्वास व्यक्त गरिएको छ।










