गुल्मी । गुल्मीको सदरमुकाम तम्घासस्थित उपल्लो तम्घास माध्यमिक विद्यालयमा शुभलक्ष्मी स्वास्थ्य सेवा प्रालिका व्यवस्थापक होम पल्लीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थी तथा विद्यालयका लागि विभिन्न शैक्षिक तथा आवश्यक सामग्री सहयोग गर्नुभएको छ।
जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नगरी सामाजिक सेवासँग जोड्ने उद्देश्यले होम पल्लीले विद्यालयमै पुगेर सामग्री हस्तान्तरण गर्नुभएको हो। उहाँले विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता तथा बहिरा अपाङ्गता भएका २४ जना विद्यार्थीलाई कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गर्नुभएको थियो।
त्यस्तै, विद्यालयको आवश्यकता र विद्यार्थीको प्रयोगलाई ध्यानमा राख्दै फिल्टर, कुर्सी, क्यारम बोर्ड, टेबललगायतका सामग्रीसमेत सहयोग गरिएको छ। विद्यालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा शुभलक्ष्मी स्वास्थ्य सेवा प्रालिका व्यवस्थापक होम पल्लीसहित शुभलक्ष्मी स्वास्थ्य सेवा प्रालिकै तर्फबाट लक्ष्मी थापा पल्लीको समेत सहभागिता रहेको थियो।
जन्मदिनको अवसरमा आफूले सकेको सानो सहयोग भए पनि सामाजिक कर्तव्यअन्तर्गत विद्यालय र विद्यार्थीका लागि केही योगदान गर्न पाउँदा खुसी लागेको होम पल्लीले बताउनुभयो। विशेषगरी बौद्धिक अपाङ्गता तथा बहिरा अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा पुगेर उनीहरूको शैक्षिक आवश्यकतालाई ध्यानमा राखी सहयोग गर्न पाउँदा आफूलाई थप सन्तुष्टि मिलेको उहाँको भनाइ छ।
होम पल्लीले जन्मदिनमा आफ्ना लागि मात्र खर्च गर्नुभन्दा समाजका लागि केही गर्न सकियो भने त्यसबाट अझ ठूलो खुसी प्राप्त हुने बताउनुभयो। उहाँले आगामी दिनमा पनि आफ्नो क्षमता र परिस्थितिअनुसार सामाजिक क्षेत्रमा यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मधु प्रसाद गौतमले विद्यालय तथा विद्यार्थीका लागि गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीका लागि आवश्यक सामग्री उपलब्ध गराउन सहयोगी हातहरू अघि बढ्नु सकारात्मक र प्रेरणादायी कार्य भएको बताउनुभयो।
त्यसैगरी, शिक्षक–अभिभावक संघका अध्यक्ष नारायण प्रसाद आचार्यले होम पल्लीलाई जन्मदिनको शुभकामना दिँदै सामाजिक सेवाको भावना राखेर आफ्नो विद्यालय रोजी विद्यार्थीलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। व्यक्तिगत अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोडेर गरिएको यस्तो कार्यले समाजका अन्य व्यक्तिलाई समेत सकारात्मक काम गर्न प्रेरणा मिल्ने उहाँको भनाइ थियो।
उपल्लो तम्घास माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता तथा बहिरा अपाङ्गता भएका विद्यार्थीहरूका लागि समेत पठनपाठन हुँदै आएको छ। त्यस्ता विद्यार्थीको सिकाइलाई सहज बनाउन आवश्यक शैक्षिक सामग्री उपलब्ध हुनु महत्वपूर्ण भएकाले प्राप्त सहयोगले विद्यार्थी तथा विद्यालयलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने विद्यालयको अपेक्षा छ।
होम पल्लीले जन्मदिनकै अवसरमा गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गास्थित गोशालामा पुगेर त्यहाँ रहेका गाईहरूका लागि घाँस तथा दानासमेत सहयोग गर्नुभएको छ। विद्यार्थीको शिक्षादेखि पशुसेवासम्म जोडिएको उहाँको यो पहलले जन्मदिनलाई सामाजिक सेवासँग जोड्ने सकारात्मक सन्देश दिएको छ।
आफ्नो विशेष दिनलाई सामाजिक सेवासँग जोड्दै होम पल्लीले गर्नुभएको सहयोगले समाजमा सकारात्मक सन्देश दिएको छ। व्यक्तिगत खुसीसँगै विद्यार्थी, विद्यालय तथा पशुसेवाका क्षेत्रमा सहयोग गर्ने उहाँको पहललाई विद्यालय परिवारले प्रशंसनीय कार्यका रूपमा लिएको छ।









