गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–७ कुँडापानीकी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर मृत्यु भएको छ।
शुक्रबार साँझ करिब ५ः३० बजे मकैबारीमा आएको बाँदर लखेट्ने क्रममा पाण्डे चिप्लिएर करिब २५ मिटर तल खसेर गम्भीर घाइते भएकी थिइन्। निउरेनी जंगलको गोरेटो बाटोमा लडेकी उनलाई तत्काल उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको थियो।
गम्भीर अवस्थामा अस्पताल ल्याइएकी पाण्डेलाई चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेका हुन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीरशोकरमालका अनुसार पाण्डे मकैबारीमा आएको बाँदर लखेट्ने क्रममा चिप्लिएर करिब २५ मिटर तल खसेकी थिइन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










