गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका-९ का निर्माण व्यावसायी बिजय खनाल लगातार तीन बर्ष उत्कृष्ट करदाता बनेका छन् । करदाता सेवा कार्यालय गुल्मीले कर सम्पताहको समापन गर्दै उत्कृष्ट करदातासहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो । सोहि अवसरमा कृषि भूमि व्यावस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले अर्जुन बिल्र्डसका प्रोपाइटर बिजय खनाल र श्रीमती लक्ष्मी खनाललाई सम्मान गरेका थिए । उनले आर्थिक बर्ष ०७९/०८० मा २५ लाख ३६ हजार ३६७ रुपैयाँ कर तिरेका थिए ।
सम्मानपछि बोल्दै खनालले सरकारले काम गरेको पैसा समयमै भुक्तानी नगरेका कारण सम्मानपछि लुकेर भाग्ने अवस्थामा निर्माण व्यावसायी रहेको बताए । काम गरेको पैसा सरकारले नदिने तर क्रृण खोजेर बिलको कर बुझाउने बिडम्बनाको अन्त्य हुनुपर्ने खनालले बताए । ‘मैले पैसा नदिने सरकारलाई सवैभन्दा बढि कर तिरेर उत्कृष्ट बनिरहेको छु । मेरो करोडौको काम गरेको पैसा पाएको छैन,’उनले भने,‘सरकार लुकेर हिड्ने र क्रृण काढेर कर तिर्ने कहिलेसम्म ? ।’ निर्माण व्यावसायी खनालले रम्बा गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण गरिरहेका छन् । सो अस्पतालको १० करोड, गुल्मीदरवार गाउँपालिकाको १५ शैयाको अस्पतालको करिव एक करोड ३० लाख र भैरहवा सडकबाट १५ लाख गरेर १२ करोड रुपैयाँ बढि रकम नपाएको निर्माण व्यावसायी खनालले गुनासो गरे ।
त्यस्तै करदाता सेवा कार्यालयले पालिकागत रुपमा सवैभन्दा बढि कर तिर्ने फर्म र व्यक्तिहरुलाई सम्मान गरेको छ । कालीगण्डकीबाट टिष्टा बिल्डर्सका चोक बहादुर कुवर, सिद्धबाबा सप्लायर्सका रिसिराम पाण्डेय, चन्द्रकोटबाट चन्द्रकोट कन्स्ट्रक्सनका वीर बहादुर थापा र छत्रकोट गाउँपालिकाबाट बासुरी निर्माण सेवाकी जमुना न्यौपाने सम्मानित भएको करदाता सेवा कार्यालय गुल्मीका कर अधिकृत बिक्रम पन्थीले जानकारी दिए । त्यस्तै रुरुक्षेत्र गाउँपालिकाबाट कमल बर्दशका चन्द्र प्रसाद श्रेष्ठ, गुल्मी दरवारबाट रुरु रेसुङा सप्लार्यसका राजु कार्की, धुर्कोटबाट काफलपानी कन्स्ट्रक्सनका आशा थापा, मदानेबाट लक्कि कन्स्ट्रक्सनका मनिराम थापा र ब्यतिगत प्यान मार्फत सवैभन्दा बढि कर तिर्ने मुसिकोट नगरपालिकाका डाक्टर सुदर्शन थापा, इस्माका हरि बहादुर खत्री, र मालिकाका नरेन्द्र बिक्रम जिसीलाई पनि सम्मान गरिएको कर अधिकृत पन्थीले बताए ।
संस्थागत रुपमा गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी, उद्योग तर्फत बबिता फर्निचर र कृषक नमुना कृषि फर्मका बिमल अर्याल पनि सम्मानित भएका छन् । त्यस्तै कर दिवसकै अवसरमा आयोजित जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगीतामा प्रथम हुने आकृती अर्याल, द्धतिय सुजता कुवंर, तृतिय करिना टण्डन र सान्त्वना हुने रितिका गौतमलाई पुस्कृत गरिएको छ ।
सोहि अवसरका प्रतियोगीताका निर्णायक यम बहादुर थापा, गुणानिधी शर्मा र भुवन अर्याललाई पनि कार्यालयले सम्मान गरेको छ । करदाता सेवा कार्यालय प्रमुख कर अधिकृत बिक्रम पन्थीले जिल्लामा व्यावसायी वातावरण सृजना गर्ने आफुहरुको प्रमुख उदेश्य भएकाले कोभिडमा थला परेको व्यावसायीक क्षेत्रलाई स्वच्छ बनाएर अगाडी लैजाने बताए ।
गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पौडेलले कर उठाउन पाल्पाबाट आउने होटलमा बसेर पसल हेरेर कर उठाउने बिगतको चलनको स्मरण गरे । उनले करसङ डराउनुपर्ने अवस्थाबाट कर प्रणालीमा सुधार आएपछि अहिलेको राम्रो भएको बताए । कार्यक्रमको सहजीकरण गुल्मी उद्योग बाणिज्य सघका उपाध्यक्ष तारा भुसालले गरेका थिए ।