गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ को वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका आनन्द श्रेष्ठ विजयी हुनुभएको छ। उहाँले ११८४ मत ल्याएर विजयी भएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर थापाले ९३० मत ल्याएर पराजित हुनुभएको छ। वडा अध्यक्षमा काँग्रेसका श्रेष्ठले २५४ मतान्तरले एमालेका उम्मेदवारलाई पराजित गर्नुभएको छ ।
०७९ सालमा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा हुँदा जम्मा ४३ मतले वडाअध्यक्षमा पराजित भएको वडा हो । तर यसपटक एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा हुँदा एमाले झन कम्जोर बनेको छ । मतगणनामा माओवादी केन्द्रबाट दुर्गाबहादुर बिकले १४३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापाले ४४ र राष्ट्रिय पजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्रीले ५ मत पाएका छन् । मत गणना मुसिकोट नगरपालिकाको वडानम्बर–१ को पौदीअमराई स्थित कार्यालयमा भएको थियो ।
मतदानमा २८ वटा मत बदर भएका छन् । वडाअध्यक्षमा ८ जना उम्मेदवार बनेका थिए । वडाअध्यक्षका लागि ५७ दशमलव १ प्रतिशत अर्थात् २ हजार ३३४ जनाले मतदान गरेको जिल्ला निर्वाचनको कार्यालयका निर्वाचन अधिकृत रिषिराम घिमिरेले बताउनुभयो । ४ हजार ५१ जना मतदाता रहेका थिए । त्यस वडामा ०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारले जीतेको वडा हो ।