बासुदेव पोखरेल, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको आयोजनामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि धुर्कोट गाउँपालिका–४, जैसीथोकस्थित काला पोखरा खेल मैदानमा सुरु भएको छ ।
प्रतियोगितामा धुर्कोट गाउँपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले एथलेटिक्स, भलिबल,का अन्य खेलकुद विधाहरूमा सहभागिता भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दामोदर घिमिरेले बताउनु भयो ।
कार्यक्रमको उद्घाटन गर्दै धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले खेलकुदको महत्त्वबारे जोड दिँदै भन्नुभयो, “खेलकुद केवल शारीरिक गतिविधि मात्र नभई मानसिक र सामाजिक विकासको प्रमुख आधार हो । यसले अनुशासन, सहकार्य, र नेतृत्व क्षमताको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ। गाउँपालिकाले खेलकुद प्रवर्द्धनका लागि स्रोत साधन, पूर्वाधार निर्माण, र नयाँ अवसर सिर्जना गर्न निरन्तर प्रयास गरिरहेको छ।
त्यसैगरी, शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरेले विद्यार्थी जीवनमा खेलकुदको योगदानबारे चर्चा गर्दै भन्नुभयो, “खेलकुदले व्यक्तित्व विकास, सहनशीलता, र लक्ष्यप्रति प्रतिबद्धता बढाउँछ। यसले विद्यार्थीलाई भविष्यका चुनौतीहरू सामना गर्न सक्षम बनाउँछ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले स्वागत मन्तव्य दिनुभएको थियो। साथै, उपाध्यक्ष सीता गिरी, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, शिक्षक, विद्यार्थीहरू, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
धुर्कोट गाउँपालिकाले हरेक वर्ष यस्ता प्रतियोगिताहरू सञ्चालन गर्दै विद्यार्थीहरूलाई खेलकुदमा प्रोत्साहित गर्दै आएको छ। यस वर्षको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दामोदर घिमिरेले गर्नुभएको हो ।