काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।
स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष जोडिएको संस्थाका रूपमा विपद्का बेला प्रभावित नागरिकको स्वास्थ्य सुरक्षामा समेत सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको ल्याबले जनाएको छ। बाढीपछि दूषित पानी, सरसफाइको अभाव तथा संक्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हो।
नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा समुदायस्तरमा सञ्चालन हुने विभिन्न कार्यक्रममार्फत चरणबद्ध रूपमा थप २० लाख रुपैयाँसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेशनल प्याथ ल्याबका सञ्चालक समिति सदस्य शरद भुसाल र सञ्चालक अस्मिता अधिकारीले सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
ल्याबले आगामी दिनमा पनि सरकार, स्थानीय समुदाय तथा सरोकारवालासँग सहकार्य गर्दै आवश्यकताका आधारमा सहयोगलाई निरन्तरता दिने जनाएको छ।









