गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा निर्माण सम्पन्न भएको शहीद शमशेर स्मृति पार्क उद्घाटन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएका छन् । जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते उक्त पार्कको उद्घाटन गर्ने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य बुद्धि जिसीले जानकारी दिए ।
जिसीका अनुसार, सोही दिन मालिका गाउँपालिकाको प्रशासकीय भवन पनि प्रचण्डकै उपस्थितिमा उद्घाटन गरिनेछ । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले शहीद पार्क निर्माणले गाउँपालिकाको सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई थप उजागर गर्ने विश्वास गरेका छन् । उनले भने, “यो पार्कले हाम्रो क्षेत्रका शहीदहरूको योगदानलाई सम्मान दिनेछ । साथै, यसले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउनेछ।”
त्यस्तै, मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले प्रशासकीय भवन उद्घाटनसँगै जनताका आवश्यकता पूरा गर्न थप सहज हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, “यस भवनले गाउँपालिकाका सेवा सुविधाहरूको पहुँच वृद्धि गर्नेछ । यो प्रगतिको एउटा महत्वपूर्ण कदम हो ।”