गुल्मी । जिल्ला भलिबल संघ गुल्मीको तेस्रो जिल्ला अधिवेशनबाट राजन कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। संघको साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनले कुँवरलाई पुनः अध्यक्षमा चयन गर्दै १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सन्तोष पुन र सोम दर्लामी, महासचिवमा नारायण आचार्य, कोषाध्यक्षमा मनबहादुर गुरुङ तथा सचिवमा थानेश्वर आचार्य र समीक्षा सारु चयन भएका छन्। निर्वाचन समिति संयोजक कृष्ण विश्वकर्माले कार्यसमिति सर्वसम्मत चयन भएको जानकारी दिनुभयो।
कार्यसमितिको सदस्यमा सूर्यबहादुर कुँवर, रामु गिरी, दामोदर केसी, अमृत राना, सुवास बलाल, आश्रित थापा, प्रकाश दर्जी र होमबहादुर पल्ली मगर चयन भएका छन्।
कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य महेश काउछा र नेपाल भलिबल संघका केन्द्रीय सचिव झकबहादुर मिदुनले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा प्रदेश भलिबल संघका सदस्य मौसम कुँवर र जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख भुवन घिमिरेको पनि उपस्थिति थियो।
जिल्ला भलिबल संघ गुल्मीले गाउँबस्तीमा भलिबल खेलको विकास गर्दै खेलाडी उत्पादन तथा प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको छ। संघले हरेक वर्ष पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्दै गाउँका खेलाडीको प्रतिभा उजागर गर्ने कामसमेत गर्दै आएको महासचिव नारायण आचार्यले बताउनुभयो।









