गुल्मी । गुल्मीमा खोलाले बगाउँदा बेपत्ता भएकी एक महिला मृत फेला परेकी छन्। माइत जाने क्रममा जिल्लाको मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सिमानामा पर्ने निस्ती खोलाले बगाउँदा उनी बेपत्ता भएकी थिइन्।
मुसिकोट नगरपालिका–५ इन्द्रेगौंडा घर भएकी २९ वर्षीया कल्पना पुन आइतबार साँझ इस्मा गाउँपालिका–४ हुलस्थित माइत जाने क्रममा खोलाले बगाएकी थिइन्। खोलाले बगाएको खबरपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए।
खोजीका क्रममा पुनलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
उनका अनुसार खोजी कार्यमा इस्मा प्रहरी चौकी र पौंदीअमराईबाट प्रहरी टोली खटिएको थियो। खोलाले बगाएको खबर पाएलगत्तै प्रहरी घटनास्थलतर्फ परिचालन गरिएको थियो।
मृतक पुनको शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।









