पश्चिम गुल्मीमा सार्वजनिक यातायातको नवयुग शुरू गरौं



Live Gulmi


✍️ डा. विष्णुप्रसाद गौतम । धुर्कोटमा मिनी ग्रेट वाल बनेको समाचारले मन रोमाञ्चित भएको छ। बाइसे चौबीसे कालका ऐतिहासिक राजाको दरबार छेउबाट उक्त पर्खाल बनेको छ रे। एकपटक हेर्ने रहर लागेको छ। धुर्कोटमै विचित्र गुफा छ। पहिलेभन्दा धेरै व्यवस्थित बनेको छ। लामो झोलुङ्गे पुल बनेपछि त अमरपुरको बुल्मबाट सहज रूपमा जान मिल्ने भएको छ।

धुर्कोटबाट टाढा लाग्ने इस्मा पक्की सडकको विकास भएसँगै अपत्यारिलो किसिमले नजिक भएको छ। इस्मामा पनि बाइसे चौबीसे कालका शक्तिशाली राजाको दरबार इस्माकोट छ। उता मालिकामा प्रसिद्ध मन्दिर छ। पुर्कोटमा कंके देउराली आकर्षक पर्यटकीय स्थलका रूपमा उदाइरहेको छ। पालिकाहरूले नयाँ नयाँ सुन्दर पार्कहरू पनि निर्माण गरेका छन्। स्थानीय तहमा प्रवर्द्धन गरिएका पर्यटकीय स्थलमा स्थानीयहरू घुमेका भिडियोहरू पाइन्छन्। गुल्मीका धुर्कोट, इस्मा, मालिका, मदाने लगायतका गाउँपालिकामा जन्मेर देश विदेशका विभिन्न स्थानमा पुगेका, उतै घरजम गरेका थुप्रै जनाले भने यी नयाँ पुराना आकर्षणहरू हेर्ने रहर मात्र पालेका छन्। आफू जन्मे हुर्केको ठाउँमा जाने साइनो अनेक हुन्छन् तर पुराना स्मृतिलाई ताजगी बनाउँदै यस्ता नविन पर्यटकीय आकर्षणहरू हेर्न जान पाए क्या गजब हुन्थ्यो।

पालिकाहरूले पर्यटन क्षेत्रलाई विकास र समृद्धिको एक प्रमुख संवाहकका रूपमा चित्रित गरेका छन् । तिनले जो कोहीलाई लोभ्याउन सक्छ। तर तिनै पालिकामा जन्मे हुर्केकाहरूलाई नै सबैभन्दा बढी लोभ्याउँछ सायद। पर्यटक भित्रियून् भन्ने पालिकाको चाहनालाई पूर्ति गर्ने सबैभन्दा संभावित समुदाय यही हुनुपर्छ। धेरैभन्दा धेरै पर्यटक भित्रियून् भन्ने पालिकाहरूको चाहना र पुगिसरी भएपछि आफ्ना सन्ततिलाई समेत घुमाउने देखाउने चाहना पाल्दै आफ्नो जन्मभूमिमा पर्यटक बनेर घुम्न चाहने जनसंख्यालाई जोड्ने हो भने साँच्चै गजब हुनेछ।

हाम्रा गाउँघर हिजोका जस्ता रहेनन्। हिजो झोला बोकेर ५/१० घण्टा उकाली/ओराली गर्दै र भेलबाढी तर्दै बल्ल/बल्ल तम्घास आइन्थ्यो। तिनै दुरी आज गाडीमा एक/डेढ घण्टामा पार गर्दा पहिलोचोटि त सपनाजस्तो पनि लाग्छ। दुरी साह्रै निकट भएको छ। सडक सञ्जाल बेस्सरी फैलिएका छन्। मूल सडकहरू पक्की बनिरहेका छन्। बिजुली, मोबाइल र इन्टरनेटका लागि शहरको तुलनामा पछि परेका छौं भन्नु नपर्ने गरी सुविधा पुगेको छ। ग्यासमा अनि बिजुलीमा खाना पकाउने जमाना आए। घर पक्की बनाएर धूवाँ धूलो दुवैबाट बच्न सकिने भएको छ। खानेपानीका धारा घरघरमा पुगे, मिटर सहितका। सरसफाइमा व्यापक सुधार आएको छ। दिसापिसाबको स्थिति पहिलेजस्तो छैन। हेल्थ पोष्ट पुगेका छन्। शहरका ठूला अस्पतालको सुविधा हेरी त कमै लाग्ला तर आधारभूत स्वास्थ्यमा भने क्रान्ति नै भएको हो विगतका २/३ दशकमा। शिक्षामा पनि पहिलाको तुलनामा धेरै प्रगति भएको छ। हिजो विद्यालयमा पानीसम्म पिउन नपाउने दिन थिए। दिवा खाजा त धेरै परको कुरा हुन्थ्यो। तर आज तमाम आधारभूत कुराहरू बदलिएका छन्। धुर्कोटका विद्यालयहरूले देशभरमै नमुना रिजल्ट निकालेको सुनिन्छ। अरू पालिकाहरूले पनि थुप्रै सुधार गर्नुपर्ने छ तर सुधार गर्ने जिम्मेवारी, बजेट, खटनपटन सबै पालिकामै पुगेको छ। आफ्ना छोराछोरी पढ्ने स्कुल आफैले सुधार गर्न सक्ने र पाइने स्थिति बनेको छ। यसरी मोटामोटी रूपमा शहरमा पाइने सबैखाले सुविधाहरू गाउँमै उपलब्ध हुन थालेका छन्। अझ अर्को महत्त्वपूर्ण आयाम गाउँमा पाइन्छ, जुन शहरमा दुर्लभ छ।

( Jeevan rajan

भौतिक सुविधामा शहरको हाराहारी पुग्नै लाग्दा आत्मीयता र प्राकृतिक सम्पदामा भने गाउँघर कहाँ हो कहाँ उत्कृष्ट१ ताजा खानेकुरा पाइन्छ। घर/घरमा फल्ने फलको स्वाद, अनि बजारमा किनेर पनि खान नपाइने वनफलहरूको उपलब्धता। स्मृतिमा मात्र रहेका खन्यू, बेडुँला, भुटुक, बडहर, डेब्बाइ, चौतारी, बयर, जामुनो, तिजु, ऐँसेलु आदि वनफलहरू, आहा मनै लोभ्याउने। डौंडे, तामा, सोस्ता, जेलुका आदि तरकारी पनि। फेरि तिनै घिरौंला, फर्सीका मुन्टा, पास्सेको सागको स्वाद गाउँमा र शहरमा आङका ताङ फरक हुन्छ। कहाँ क्लोरिन मिसिएको ठुसठुस गन्हाउने स्विमिङ पुल, कहाँ कलकल बग्ने छल्ली पनाड खोलाका रहमा पौडनुको मजा।

आकाशको निलोपन होस् कि बादलको सेतोपन होस् कि रूखको हरियाली अनि पानीको कञ्चन रूप, गाउँमा देखिने सुन्दरता अतुलनीय हुन्छ। यति धेरै कुराको उपलब्धता भएर पनि रोजीरोटी हो कि बाहिर जानु नै सफल हुनु हो भन्ने मनोविज्ञान हो, हामी धेरै जन्मभूमिभन्दा टाढा छौं। मनको कुनामा भने जन्मभूमिमा जाने उत्कट चाहना पाल्दै बाँचेका छौं ।

पश्चिम गुल्मीका गाउँघरमा शहरको हाराहारी विकास र सुविधा पुग्दा पनि विचित्रैसँग उपेक्षित एउटा सुविधा भने एकदमै खड्किन्छ।त्यो हो सार्वजनिक यातायात। त्यसो त देशभरमै आश्चर्यजनक रूपले उपेक्षित क्षेत्र हो यो । टोलटोलमा बाटो पुर्‌याउन एकदमै जोड दिइयो, सडकमा देशको बजेटको एकदमै ठूलो हिस्सा खनाइएको छ विगत ३/४ दशकमा। सडक पुगे तर अफसोच, सार्वजनिक यातायातको सेवा त्यो रफ्तारमा पुगेको छैन। झट्ट सुन्दा यो गलत जस्तो सुनिन सक्छ तर सार्वजनिक यातायातको उपलब्धताको चित्र एकदमै दारूण छ।

सिमलटारी, धुर्कोटबाट बस चल्छन्, बस, माइक्रो, जिप उपलब्ध छन्। अनि तिनै बसहरू रित्तै गुड्नुपरेका कथा व्यथा पनि छन्। तर रित्तै गुड्नुको कारण खोतल्दै जाने हो भने यात्रुको उपलब्धता मात्र एउटै कारण होइन। फुलबारीबाट एक/डेढ घण्टामा तम्घास पुगिन्छ तर दिउसो १२ बजेपछि सायदै कुनै सुविधा पाइन्छ। यात्रु नै पाइन्नन् भन्ने तर्क उठ्छ तर निश्चित समय नै तोकेर बेलुकापखको सेवा कहिल्यै शुरू गरिएको छ ररु तम्घासबाट जाँदा पनि जिपहरूले निश्चित समयतालिका पालना गर्नुको सट्टा १ घण्टाको बाटोको लागि ३ घण्टा गाडीमा कुर्नुपर्ने नियति बनाइरहेको पनि पाइन्छ। समयतालिका तोक्नु र त्यसको सम्मान गर्नु सार्वजनिक यातायात सुधारको लागि एउटा खम्बा हो। खै र। यहाँ चर्चा गर्न खोजेको सार्वजनिक सेवा भने तम्घासबाट गाउँ जाने भन्दा पनि गाउँ/गाउँभित्रको स्थानीय सेवाको हो।

एकछिन परिकल्पना गरौं त कोही पर्यटकले धुर्कोटको ग्रेट वाल, विचित्र गुफा, इस्माको दरबार, मालिकाको मन्दिर अनि लेकपोखरा विचरण गर्ने विचार गर्छ। खोलामा एकछिन पौडिन चाहन्छ, एक दिन खेतबारीमा टहल्न चाहन्छ, अनि साथीभाइ, आफन्तहरू भेट्न चाहन्छ। उसका लागि उपलब्ध यातायातको सुविधा के छरु भौतिक विकाससँगै अब हामीले हिजोको मनोविज्ञान त्यागेर आज र भोलिको मनोविज्ञान तयार गर्नुपर्छ। हिजो तम्घासलाई केन्द्र मानेर सार्वजनिक रूट तय हुन्थे भने अब त धुर्कोटलाई सिमलटारी जोड्ने, इस्मा र पुर्कोट जोड्ने आदि रुटबारे सोच्नुपर्ने देखिन्छ। जिप रुटहरू शुरू गर्न सकिएला। अब धुर्कोटबाट माइती मावली जान अमरपुर, अर्जै, छाप, इस्मा आदि ठाउँमा जानुपर्दा सार्वजनिक साधन किन नपाउनेरु अन्य कैयौं ठाउँमा मोटरसाइकल, स्कुटरको राइड शेयरिङ सेवा फस्टाएको छ। पठाओ भनेर बढी चिनिने त्यस्तो सुविधा देशका थुप्रै भेगमा पाइन थालेको छ। तर पश्चिम गुल्मीतिर यस्तो सुविधा अझै शुरू भएजस्तो लाग्दैन।

स्वरोजगारको राम्रो माध्यम हुनसक्ने यो दिशातर्फ स्थानीयहरूले ध्यान दिँदा आवतजावतको लागि खुबै घत पर्ने देखिन्छ। त्यसैगरी थुप्रै अन्य जिल्लाहरूमा अटोरिक्सा (तीनपाङ्ग्रे) व्यवसाय राम्रै बिस्तार भएको देखिन्छ। पश्चिम गुल्मीमा भने यस्तो सुविधा शुरू भएको छैन सायद। त्यस्तो सेवा शुरू गर्नका लागि एकदमै उपयुक्त बेला आएको छ जस्तो लाग्छ। पालिकाहरूले त्यस्ता साधन दर्ता गर्ने, रुटहरू तय गर्ने, भाडादर तोक्ने लगायतका सहजीकरण गर्ने हो भने गाउँठाउँका मुख्य केन्द्रमा १/२ जनाका दरले स्वरोजगारमूलक व्यवसाय संचालनको उपयुक्त मौका आएको छ। बरबोट, फुलबारी (चौरासी),कल्पना गरौं त दशैंमा अटोहरूले भ्याइ नभ्याइ गर्दै खेप फालून्, अनि सय हातको टीका पुर्याउने हाम्रो मौलिक चलनलाई सार्वजनिक यातायातले साथ दिन सकून्। लौन यो विषयमा गम्भीर विचारविमर्श तथा पहल गरौं। पालिका प्रमुख उपप्रमुखज्यूहरूलाई यही लेखमार्फत् विनम्र अनुरोध छ।

महाप्रलयकारी बाढीको कहरपछाडि हामी सबैले हर तप्का र क्षेत्रमा नविन आशा र संभावनाका बिहानी ल्याउनु परेको छ। सिमलटारी, अर्जै पोखराबारी, हुलाके, बुल्म आदि जंक्शन बनाउने अनि सम्पर्क नम्बर दिने हो भने गाउँठाउँको दैनिक जीवनयापन नै फेरिने गरी त्यस्तो यातायातको युग आउने आँकलन गर्न सकिन्छ। पर्यटक मात्र होइन, स्थानीयलाई माइत/घर गर्न, तरकारी दूध किन्न, घोत लैजानदेखि, खेतबारी गर्न समेत त्यस्तो सुविधाको प्रयोग बढ्दै जानेछ।

गाउँठाउँका उत्पादनहरूको ओसारपसारमा पनि सहज हुनेछ।
सार्वजनिक यातायातको हिसाबले हाम्रो जनसंख्यालाई ५ किसिममा वर्गीकरण गर्न सकिन्छ। १० आफ्नै साधन भएका वर्ग। २० सरकारी वा संस्थागत सवारी सुविधा पाएका तथा पहुँच, प्रभाव हैसियत वा भनसुनका आधारमा त्यस्ता सुविधा उपभोग गर्न पाउने वर्ग। ३० कहिलेकाहीँ घुमघाम गर्नका लागि गाडी रिजर्भ गर्ने हैसियत भएको वर्ग ४० सार्वजनिक सुविधा भयो भने तिनको प्रयोग गर्ने वर्ग। ५० सार्वजनिक यातायात हुँदा पनि भाडा तिर्न गाह्रो हुने वर्ग। त्यसो त, यातायात साधन प्रयोग नै नगर्ने पनि होलान् तर तिनलाई अपवाद मात्र भन्नुपर्ला।

यी ५ वर्गमध्ये सबैभन्दा बहुल जनसंख्या चौथो वर्गका हुनुपर्छ। विकसित समाज वा पालिकाको मानक हुनको लागि पनि पहिलो, दोस्रो वा तेस्रो होइन चौथो वर्गको जनसंख्या नै अधिक हुनुपर्छ। तर हाम्रो बिडम्बना, चौथो वर्गमा पर्ने चाहना हुँदाहुँदै पनि सकिनसकी पहिलो वर्गमा पर्नुपरेका थुप्रै जना छौं। सार्वजनिक यातायातको असफलता नै मान्नुपर्छ कि तराईका शहरमा एउटै परिवारका ४ जनाले ४ वटासम्म मोटरसाइकल र स्कुटर किनेका पनि छन्। यो हाम्रा सरकारहरूको असफलताको एउटा सूचक हो, हाम्रो समाजले सही दिशा समात्न नसकेको एउटा प्रमाण हो। यो देशकै अगुवा शहर काठमाडौंको पनि ठूलो असफलताको सूचक हो। “छन् त, चढे भइहाल्यो नि” भन्ने तर्क गर्न त सकिएला, तर समस्याको जरो खोतल्ने हो भने धेरै कुरा थाहा भइहाल्छ। एकै घरमा एकभन्दा बढी साधन किन्ने चलन बिस्तार हुनु अघि गाउँघरमा सार्वजनिक यातायात बिस्तार हुन सकोस्।

समाजवाद उन्मुख देशमा आम जनताका लागि काम गर्ने जनप्रतिनिधिहरूले पहिलोदेखि तेस्रो वर्ग बढाउने दिशामा होइन, चौथो वर्ग बढाउने दिशामा जानुपर्छ। अनि पाँचौ वर्गलाई सहुलियत दिएर चौथो वर्गमा उकाल्ने प्रयत्न गर्नुपर्छ। विकसित र सहज समाज तबमात्र हुन्छ जब सार्वजनिक यातायातको प्रचुर सुविधा विद्यमान हुन्छ। धुर्कोटजस्ता उदाहरणीय काम गरिरहेका पालिकाहरूलाई विनम्र अनुरोध यो छ कि सडक अनि पर्यटकीय स्थल विकास गर्न जसरी खट्नुभयो, अबका दिनमा सार्वजनिक यातायात सेवाको लागि त्यस्तै दत्तचित्त भएर लाग्नुहोस्। नयाँ चलन स्थापित गर्ने शिलशिलामा थुप्रै चुनौती आउन सक्छन्।

सुविधा शुरू गरेको छोटो समयमै नाफामूलक वा भरिभराउ नहुन सक्छन्। आफ्ना बासिन्दाको सुविधाको लागि पालिका केन्द्रसम्म आउजाउ गर्नका लागि केही रूटहरू बिस्तार गर्ने र केही अनुदान वा सहुलियत दिएर भए पनि सेवा बिस्तार गर्नु अत्यन्तै न्यायोचित हुन्छ। एउटा पर्यटकले काठमाडौंबाट १ हप्ताको लागि पश्चिम गुल्मी घुम्न जाने योजना बनायो भने उसले कसरी यात्रा गर्न पाउलारु यो प्रश्नलाई यक्ष प्रश्न मानेर त्यसको उत्तर मिल्ने गरी काम गर्नुभयो भने हाम्रा गाउँघरले गुणात्मक फड्को मार्नेछन्। शुभकार्यका लागि बिलम्ब किनरु दशैं नजिकिँदै छ। दशैंतिहारमा ठूलो जनसंख्या गाउँघरतिर ओइरिन्छ। शुरूवाती प्रयासको रूपमा यही दशैंको लागि नै त्यस्तो सुविधा शुरू गर्न सकियो भने यो प्रयास कत्तिको सान्दर्भिक हुन्छ र कुन रुटहरू उपयुक्त हुन्छन् भन्ने परीक्षण पनि हुन्छ। दशैं पारेर गाउँघर पुगेकाहरूलाई स्थानीय जिप, अटो, राइड शेयरिङ आदि सेवा शुरू भयो भने स्थानीय जनता, पालिका तथा पाहुना पर्यटक सबैलाई सुखद अवसर हुनेछ।

कल्पना गरौं त दशैंमा अटोहरूले भ्याइ नभ्याइ गर्दै खेप फालून्, अनि सय हातको टीका पुर्याउने हाम्रो मौलिक चलनलाई सार्वजनिक यातायातले साथ दिन सकून्। लौन यो विषयमा गम्भीर विचारविमर्श तथा पहल गरौं। पालिका प्रमुख उपप्रमुखज्यूहरूलाई यही लेखमार्फत् विनम्र अनुरोध छ। महाप्रलयकारी बाढीको कहरपछाडि हामी सबैले हर तप्का र क्षेत्रमा नविन आशा र संभावनाका बिहानी ल्याउनु परेको छ।

डा. विष्णुप्रसाद गौतम (अमरपुर, गुल्मी) (लेखक पेशाले इन्जिनियर तथा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व सदस्य हुन्)

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया