गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका–३ धरमपानीस्थित श्री नव प्रगतिशील युवा क्लबले भोटेकोसी तथा त्रिशूली नदी तटीय क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोबाट प्रभावितका लागि ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।
क्लबका अध्यक्ष तेजबहादुर कण्डेल र सचिव माधव काफ्लेको नेतृत्वमा क्लबले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गरेको हो। गत भदौ १० गते आएको बाढीपहिरोबाट प्रभावित परिवारको सहयोगका लागि क्लबले आफ्नो तर्फबाट उक्त रकम सहयोग गरेको जनाएको छ।
क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार जनक पन्थले विपद्को समयमा पीडितलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताए। उनले क्लबले सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिँदै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई प्राथमिकता दिने बताए।
यसैगरी, क्लबले आगामी भदौ २७ गते आयोजना गर्ने खुला तीजगीत प्रतियोगिता तथा तीज मेला–२०८३ कार्यक्रम पूर्वनिर्धारित मितिमै सञ्चालन हुने जनाएको छ।









