गुल्मीदरबार गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न



नवीन कार्की


गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ काे अन्तिम तथा तेस्रो चाैमासिककाे सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । गाउँपालिकाकाे वडा नम्बर ६ चारपाला दरबार संग्राहलयकाे सभाहलमा यस चालु आर्थिक वर्षको समग्र तथा तेस्रो चाैमासिककाे सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो ।                                                                      सार्वजनिक सुनुवाइ कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले चालु आर्थिक वर्षको समष्टिगत र तेस्रो चाैमासिकका गतिविधि प्राथमिकताका साथ प्रस्तुत गरेका थिए । उनले गाउँपालिकाबाट सम्पादित सबै कार्यकाे सार्वजनिक गरेका हुन् । गुल्मीदरबार गाउँपालिकाले चालु आर्थिक वर्षको वित्तीय प्रगतिमा गुल्मी जिल्लामै दाेस्राे स्थान हासिल गर्न सफल भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा चालु तर्फ ९०.४१ प्रतिशत पुँजीगत तर्फ ८६.३४ गरी समग्रमा ८९.२१ प्रतिशत वित्तीय प्रगति गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा १७ जना भन्दा बढीले एक सय भन्दा बढी सार्वजनिक सराेकारका बिषयमा प्रश्न गरेका थिए । शिक्षा क्षेत्रकाे खस्कँदाे अवस्था, अलपत्र सडक, सडकका कारण जाेखिममा परेका घर, स्वास्थ्य सेवा, कृषि क्षेत्र, सिँचाइ अभाव, खेतीमा पहिरो र बाढीले क्षति, स्कुल बस आवश्यक र उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मानमा गाउँपालिकाले नदेखाएको चासो लगायतका समस्या राखेका थिए ।जवाफमा गाउँपालिकाका शाखा प्रमुख, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षले सम्बाेधन गरेका थिए । गाउँपालिका अध्यक्ष सराेजकुमार थापाले सिमित स्राेत र साधनका बिचमा असीमित आवश्यकता परिपुर्ति गर्नुपर्ने भएकोले सबै काम एकैपटक हुन नसकेको बताएका थिए । उनले क्रमिक रुपमा काम हुँदै जाने भएकोले सबैलाई गाउँपालिका साथमा रहेकोले ढुक्क हुन आग्रह गरेका छन् । सार्वजनिक सुनुवाइ कार्यक्रमकाे सहजीकरण पत्रकार भुवन भुसालले गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष सराेजकुमार थापा, उपाध्यक्ष तारा थापा ढेंगा, प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी, सबै वडाका वडाध्यक्ष, बिषयगत शाखाका प्रमुख, प्रेस सल्लाहकार, कार्यपालिका सदस्य, वडा सदस्य, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी र स्थानीयकाे उल्लेखनीय सहभागिता रहेको थियोे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया