गुल्मी । गुल्मी दरबार गाउँपालिका–६ स्थित श्री गंगा आधारभूत विद्यालय, चिलाउनी पोखरामा सोमबार सम्पन्न तेस्रो रनिङशिल्ड हाजिरी जवाफ प्रतियोगिता २०८२ उत्साहपूर्वक सम्पन्न भएको छ। गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजनामा र मीरा कोषको व्यवस्थापकीय सहयोगमा आयोजित प्रतियोगितामा करिब २०० जना सहभागीको उपस्थिति रहेको थियो।
विद्यार्थीहरूमा सामान्य ज्ञान, बौद्धिक क्षमता, आत्मविश्वास र टोली भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए।
प्रतियोगितामा ठुलापोखरा माध्यमिक विद्यालयको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको थियो। यस्तै, शारदा माध्यमिक विद्यालय दोस्रो भएको थियो भने तेस्रो स्थान ईश्वरी उच्च माध्यमिक विद्यालयले प्राप्त गर्यो। आयोजक विद्यालय गंगा आधारभूत विद्यालयको टोलीले सान्त्वना स्थान प्राप्त गर्यो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा गुल्मी दरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापा सहभागी थिए। वडा नं ६ का अध्यक्ष मुकेश थापा, कार्यपालिका सदस्य सोनु देवी कार्की, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सफल व्यवस्थापनका लागि मीरा कोषका अध्यक्ष हेमलाल शर्मा भुसाल, हाजिरी जवाफ प्रतियोगिता सञ्चालक तथा महासचिव रामचन्द्र पौडेल र उनका परिवार, विद्यालय परिवार तथा स्वयंसेवकहरूको विशेष भूमिका रहेको आयोजकले जनाएको छ।
यस्तै, बुटवलबाट विशेषरूपमा कार्यक्रममा सहभागी हुन आएका सल्लाहकार, कार्यसमिति सदस्य, आजीवन सदस्यहरूलाई समेत आयोजकले धन्यवाद व्यक्त गरेको छ। कार्यक्रम संयोजक कुल प्रसाद भुसाल, राजेश थापा, रमेश कार्की र सञ्चालन सचिव विकास टण्डनको सक्रियता पनि प्रशंसायोग्य रह्यो।
प्रतियोगितामा द्वितीय पुरस्कार पुर्व शिक्षक बीर बहादुर खत्री, तृतीय पुरस्कार कुल बहादुर महत, र सान्त्वना पुरस्कार आत्माराम पन्थीले प्रायोजन गरेका थिए। त्यस्तै, बिपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने कार्यमा सुमित्रा टण्डन, जीवन कार्की, मोहन कार्की र काजीमान टण्डनको योगदान उल्लेखनीय रह्यो।
कार्यक्रमपछि विजेता टोलीहरूलाई ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो भने सहभागी सबै टोलीहरूलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो।