गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले कुरीति कुसंस्कार विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले कुलत संस्कार अन्तरपुस्ता/अन्तर संवाद कार्यक्रम अन्तर्गत समाजमा विद्यमान कुरीति कुसंस्कार विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा गुल्मीदरबार गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १२ कक्षा सम्मका बिद्यार्थीलाई सहभागी गराइएको थियो । कार्यक्रममा गाउँपालिकाका सबै कर्मचारी र जनप्रतिनिधिकाे पनि सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले दुर्ब्यसनीले आफ्नो घरपरिवार लाई मात्र नभई सिंगो समाज र राष्ट्रलाई नै प्रभाव पार्ने बताउनुभयो । कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले नेपाली नागरिकतामा आउने जटिलताका बिषयमा प्रष्ट पार्दै सकेसम्म सहज रुपमा सिफारिस गरिदिन बडा सचिवहरुलाई निर्देशन दिनुभयो ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले लागुऔसत सम्बन्धि प्रशिक्षण गर्नु भएको थियो । गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापा सभापति र जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको सहजीकरण गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले गर्नु भएको थियो ।