गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले प्रमाण विहीन र तथ्यहीन भ्रामक शैलीमा प्रस्तुत भिडियोप्रति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार गाउँपालिकाले पत्रकार सम्मेलन गर्दै फेसबुक पेजमा गाउँपालिकाका बिषय जाेडेर नागरिकमा भ्रम सिर्जना गर्ने काम भएको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष सराेजकुमार थापाले प्रमाण, सत्यतथ्य र विस्तृतमा बुझेर समाचार शैलीमा गाउँपालिकालाई खबरदारी गर्ने, सुझाव सल्लाह दिने र आम नागरिकलाई सुसूचित गर्ने पर्याप्त मात्रामा आधारहरू हुँदाहुँदै पनि पूर्वाग्रह शैलीमा राजनीतिक कुराहरू जोड्दै कपाेलकल्पित र मनगढन्ते रुपमा भिडियो निर्माण गरी भ्रम सिर्जना गरेकोमा त्यसमा गाउँपालिका परिवारकाे आपत्ति रहेको भन्दै त्यस्ता कुराहरूकाे पछाडि नलाग्न आम गुल्मीदरबारबासीलाई आग्रह गरेका छन् ।
गाउँपालिका अध्यक्ष थापाले गुल्मीदरबार गाउँपालिकाकाे विकास निर्माणकाे स्थिति र आगामी याेजनाहरुकाे बारेमा बुझ्न चाहेमा सम्बद्ध निकायसँग बुझ्न अनुरोध गर्दै गाउँपालिका परिवार यस बिषयमा जनताकै साथमा रहेको बताए । उनले प्रमाण विहीन र तथ्यहीन कुराहरू कपाेलकल्पित र मनगढन्ते रुपमा भिडियो मार्फत प्रचार गरिएकोले त्यस्ता भ्रामक कुराकाे पछाडि नलाग्नुहुन पत्रकार सम्मेलन मार्फत आम नागरिकमा आग्रह गरेका हुन् ।
उनले गाउँपालिकाले १५ शय्याको अस्पताल संचालनमा ल्याउन कर्मचारी माग गरिएको, विद्यालय भवन निर्माणमा बजेट विनियोजन भएको, सडकहरू ग्राभेल र पक्की गर्ने गरी काम भइरहेको, एक घर एक धारा कार्यक्रम मार्फत घरघरमा खानेपानी पुगेको, नपुगेको स्थानमा थप कार्यक्रम ल्याइएकाे र गुल्मीदरबारकाे समग्र विकासका लागि निरन्तर काम भइरहेको पनि पत्रकार सम्मेलनमा थापाले बताएका छन् ।