गुल्मी । गुल्मीमा जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीका अनुसार गुल्मी जिल्लामा मुख्य २१ सिंचाई योजनाहरु रहेका छन् । इस्मामा चौरासीफाँट सिंचाई योजना, छल्दीखोला–भालुखोला–भलायटोरी–सेरा सिंचाई योजना र खोलाखेत कल्लेनीटार सिंचाई योजना रहेका छन् । खोलाखेत कल्लेनीटार सिंचाई योजना यो बर्षबाट अगाडी बढ्नेछ । छल्दीखोला–भालुखोला योजना गतबर्षबाट संचालन रहेको छ । भने चौरासी फाँट सिंचाई योजनाको अधिकांश काम सकिएर हस्तान्तरण गरिएको छ । त्यस्तै सत्यवतिमा अस्लेवा चौर र चेहमी सिंचाई योजना रहेका छन् । दुवै योजनाको धेरै काम भएका छन् ।
मुसिकाेटमम बर्गती सानीचौर र झेदी खोला सिंचाई योजनाको काम पनि सकिएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्राविधिक बालकृष्ण बुढाथोकीले जानकारी दिए । उनका अनुसार कालिगण्डकीमा जेठी र कान्छी कुलो सिंचाई योजना रहेका छन् । दुवैको काम सकिएको छ । चन्द्रकोटमा दमुका सोता, हुँग्दी तुराङ्ग र सराङ्ग खोला सिंचाई योजना, रुरु क्षेत्रमा बिरुवाफाँट र बेसीकाचौर सिंचाई योजना रहेका छन । छत्रकोटमा बोहाफाँट सिंचाई योजना, धुर्कोटमा कुमालटारी सिंचाई योजना, गुल्मीदरवारमा कुमालटारी सिंचाई योजना रहेका छन् । रेसुंगामा भुल्के भर्ला डाँडाखर्क सिंचाई योजना रहेको छ । यो योजना गतबर्षबाट काम भइरहेको छ । मदानेको ओडारे ठुलाखेत फलाँटे पटेरा सिंचाई योजनाको यो आर्थिक बर्षबाट काम सुरु हुने बुढाथोकीले बताए । मुसिकोट ५ को आँपचौर कफी खेती सिंचाई योजना पुननिर्माण गर्नुपर्ने अवस्थामा रहेको छ ।
चौरासीफाँट सिंचाई योजना हस्तान्तरण चौरासीफाँट सिंचाई योजना इस्मा गाउँपालिका–६ उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीले मझौला तथा बैकल्पिक प्रविधीमा आधारित सिंचाई योजना निर्माण गरेको थियो । ०७६÷०७७ सालमा स्विकृत योजना अहिले सम्पन्न भएको हो । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण बहादुर खत्रीले गाउँपालिका अध्यक्ष भगतसिंह खड्का र जल उपभोक्ता समितिलाई योजना हस्तान्तरण गरे । खत्रीले योजनाको दिर्घकालिन संचालनको लागि उपभोक्ता समिति सक्रिय रहन आग्रह गरे । ‘नहरमा राज्यको ठुलो लगानी भएको छ । नहरको उपयोगबाट चौरासी फाँट कृषि क्षेत्रको हब बनाऔँ,’उनले भने,‘सम्पतिका मालिकहरुनै नहरको संरक्षक हो ।’ इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले नहर निर्माणले व्यावसायीक कृषि खेतीमा ठुलो आशा जगाएकाले काम गर्नेहरुलाई पालिकाको तर्फबाट पनि सहयोग गरिने बताए ।
जिल्लामा सवैभन्दा ठुलो योजना एक सय १४ हेक्टर क्षेत्रफलमा सिंचाई हुने १०.८ किलोमिटर लामो सिंचाई योजना (नहर) जिल्लाको सवैभन्दा ठूलो रहेको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीका प्रमुख इन्जिीनियर भरत सापकोटाले जानकारी दिए । योजनाबाट २ सय १६ घरधुरीका ८ सय ३७ जना लाभाम्बित हुनेछन् । चार करोड ३७ लाखको लागतमा निर्माण गरिएको योजना चौरासी फाँटको समृद्धिको प्रमुख महत्वपूर्ण आधार हो । कोवाल चार, आरसिसिवाल ३५ मिटर, एक्यिुडक्ट एक, मेसिनरीवाल ९ सय ३२ घनमिटर, पापलाइन ७ सय मिटर, गेवियन कार्य २ सय घनमिटर, डवल साइड क्यानल आरसिसि लाइनिङ्ग ४.५ किलोमिटर निर्माण गरिएको सापकोटाले बताए ।
११ हजार ७ सय २० हेक्टरमा सिचाइ सुबिधा गुल्मी जिल्लामा खेतीयोग्य जमिन ८५ हजार ६ सय ७० हेक्टर रहेको छ । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीका अनुसार खेती गरिएको सिंचाईयोग्य जमिन ३४ हजार ३ सय ९५ हेक्टर रहेको छ । त्यस्तै सिंचाई सुविधा ११ हजार ७ सय २० हेक्टरमा पुगेको छ । जसमा कुलो निर्माणबाट सिंचाई ८ हजार नौ सय, नहर मार्फत २ हजार ४ सय ५० र लिफ्ट तथा पोखरीबाट ३ सय ६० हेक्टर क्षेत्रफलमा सिंचाईको सुविधा पुगेको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मीले जनाएको छ ।