गुल्मी । नेपाल निजामती कर्मचारी संगठन गुल्मीले स्थापना दिवसको अवसरमा न्यानो कपडा (ब्लाङकेट) वितरण गरेको छ । संगठनको ३५ औं स्थापना दिवसको अवसरमा रेसुंगा संरक्षण समितिलाई न्यानो कपडा प्रदान गरिएको हो ।
रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसाललाई कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले चार थान न्यानो कपडा (ब्लाङकेट) र पाँच थान टाबेल प्रदान गर्नुभएको हो । साथै सोही अवसरमा संगठनको क्यालेण्डर बिमोचन तथा शुभकामना आदान–प्रदान गरिएको छ ।
संगठनले बर्षेनी स्थापना दिवसमा रचनात्मक काम गर्दै आएको छ । गत बर्ष ३४ औ स्थापना दिवसको अवसरमा गुल्मी कारागारका कैदीबन्दीलाई संगठनले ४२ इन्चको एससिडी टिभी प्रदान र गुल्मी अस्पतालमा रक्तदान गरेको थियो । त्यस्तै विगतमा गुल्मी अस्पताल तम्घासका सेवाग्राहीका लागि स्मार्ट टेलिभिजन हस्तान्तरण, लक्ष्मी आधारभूत प्राविमा एक सय पाँच जना बिद्यार्थी झोला र स्टेशनरीको सामान, कुमारी आधारभूत विद्यालय इस्माका विद्यार्थीहरुका लागि स्कुल व्याग तथा स्टेसनरी सामान वितरण गरिएको थियो ।
त्यस्तै कारागार कार्यालय गुल्मीका कैदी वन्दीहरुका लागि खाना पकाउने भाडाकुँडा वितरण, उपल्लो तम्घास माविमा रहेका फरक क्षमता भएका विद्यार्थीहरुका लागि स्टेसनरी सामान वितरण, तत्कालिन जिल्ला प्रशासन कार्यालयमा कार्यरत संजिव परियार र श्याम न्यौपानेको सवारी दुर्घटनामा मृत्यु भएपछि परिवारलाई केन्द्र र जिल्लावाट जनही एक लाख रुपियाँ आर्थिक सहयोग गर्दै आएको नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष लालमणी भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे, नेकपा एमालेका जिल्ला सचिव धर्म विश्वकर्मा, पेसागत महासंघका अध्यक्ष गोपाल पाण्डेय, आधिकारी ट्रेड युनियनका अध्यक्ष खिम बहादुर अधिकारी लगायतको उपस्थिती रहेको नेपाल निजामती कर्मचारी संगठन गुल्मीका सचिव राजु अर्यालले बताउनुभयो ।