गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीलाई नि:शुल्क अध्यापन गराउने भएको छ । इस्मा गाउँपालिका वडा नम्बर ५ मा रहेको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सबै विद्यार्थीको शुल्क गाउँपालिकाले बेहोर्ने भएसँगै सबै विद्यार्थीले नि:शुल्क अध्ययन गर्न पाउने भएका छन् । गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रममा समेटेर सोही बमोजिम बजेट व्यवस्थापन गरी जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सबै विद्यार्थीको शुल्क गाउँपालिकाले तिरिदिने इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले जानकारी दिइन् । शिक्षालयमा तीन वर्षे सर्वेक्षक अध्ययन/अध्यापन हुने तर विद्यार्थीको खर्च बढी लाग्ने हुँदा प्राविधिक शिक्षा लिने इच्छा भए पनि बञ्चित हुनुपर्ने बाध्यता अन्त्यमा लागि आफूले आगामी आर्थिक वर्षका लागि नि:शुल्क प्राविधिक शिक्षाको व्यवस्था गरेको उपाध्यक्ष कुँवरले बताइन् । उनलेे यसरी नि:शुल्क प्राविधिक शिक्षाको व्यवस्था गरेपछि विद्यार्थीको आकर्षण बढ्ने र गाउँमै नि:शुल्क तथा गुणस्तरीय प्राविधिक शिक्षाकाे सुनिश्चितता हुने बताएकी छिन् । इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले प्राविधिक शिक्षामा देखिएको धनी र गरिब बीचको विभेद अन्त्यमा लागि जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा लाग्ने सबै शुल्क गाउँपालिकाले तिर्ने निर्णय गरेको बताएका छन् । प्राविधिक शिक्षा महङ्गो भएकोले यसमा धनीकाे मात्र पहुँच छ, गरिबले पढ्न सक्दैनन् भन्ने बुझाइ रहँदै आएकोमा सबैको समान पहुँच, प्राविधिक शिक्षामा विद्यार्थीकाे आकर्षक, नि:शुल्क प्राविधिक शिक्षा र गाउँमै गुणस्तरीय प्राविधिक शिक्षा लिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नका लागि आफूहरूले जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा पहिलोपटक नि:शुल्क शिक्षा प्रदान गर्ने गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताए । हाल जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा तीन वर्षे सर्वेक्षक अध्ययन/अध्यापन हुँदै आएको छ । जसको लागि प्रति विद्यार्थी एक लाख बढी रुपैयाँ खर्च हुने गर्दथ्याे ।
तपाईंको प्रतिक्रिया
-
महतारा Live Gulmi का सह-सम्पादक हुन् । उनी माउन्टेन टेलिभिजन र मध्यान्ह राष्ट्रिय दैनिकका संवाददाता पनि हुन् ।लेखक द्वारा अन्य