गुल्मी । गुल्मीदरबारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गरिएको छ । आइतबार गाउँपालिकाकाे सभाहलमा गाउँपालिकास्थित सबै संघसंस्थाका प्रतिनिधिकाे सहभागिताका सुझाव संकलन गरिएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम र बजेट तर्जुमाकाे लागि राय सुझाव संकलन कार्यक्रम गाउँपालिकाले आयोजना गरेको गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिए । गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले सुझाव संकलन कार्यक्रममा उत्साहजनक सहभागिता जनाउने सबैलाई स्वागत गरिन् । उनले जनताको राय सुझाव संकलन गरेर नै गाउँपालिकाले नागरिक मैत्री सेवा र विकास गर्न सकिने बताइन् । कार्यक्रम गाउँपालिका अध्यक्ष सराेजकुमार थापाले ब्यानर पढेर उद्घाटन गरे । त्यसपछिकाे कार्यक्रममा गाउँपालिकास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकार लगायतले सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष सराेजकुमार थापाले प्राप्त सुझाव गाउँपालिकाले गर्न सकिने, गर्नैपर्ने र नागरिककाे हितमा रहेकोले सबै सुझाव नीति तथा कार्यक्रममा समेटेर बजेट विनियोजन गरेर काम गर्ने बताएका थिए । उनले देश विदेशका रहेका सबै गाउँपालिका बासी र अन्य सराेकारवालालाई सुझाव माग गरिएको र यसरी भाैतिक उपस्थित गराएर सुझाव माग गरी गाउँपालिकाले गुल्मीदरबार गाउँबासीकाे हितमा काम गर्न लागिरहेको बताए ।