पहाडमा पनि बोरिङबाट पानी आउँछ भन्दा धेरैले पत्याएनन् !



Live Gulmi


सागर भण्डारी, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वडा नं ७ स्थित वामीटक्सार बजारमा सुख्खा याममा खानेपानीको आपूर्ति पुर्याउन नगरपालिकाले विभिन्न कोशिस गरिरहेको थियो । करङखोला मौरीभिर खानेपानी आयोजना मार्फत खानेपानीको आपूर्ति गरिएपनि त्यसले मात्रै पर्याप्त थिएन । यसैपनि बर्खायाममा धमिलो पानी आउने र हिँउदमा आपूर्ति पुरा हुन नसक्ने समस्यासंग नगरपालिका विकल्पको खोजि गरिरहेको थियो ।

यसैबीचमा नगरपालिकाको टोली पहाडमा पनि बोरिङ खानेपानी मार्फत पानी निकाल्न सकिन्छ भन्ने थाहा पाएपछि पर्वत र तम्घास लगायतका ठाउँमा स्थलगत निरिक्षणका लागि पुगे । डिप बोरिङ मार्फत जमिन मुनि खनेर पम्पको सहायताले पानी निकालेको आफ्नै आँखाले देखेपछि निरिक्षणको लागि गएको टोलीलाई जुक्ति आयो यो प्रविधि वामीमा पनि लैजानुपर्यो ।

तत्कालिन ईन्जिनियर बासु भुषाल लगायतका प्राविधिकहरुले डिपिआर तैयार गरेर काम अगाडी बढेको उपमेयर गंगा श्रेष्ठले जानकारी दिनुभयो । वडा नं ७ का विभिन्न स्थानमा ईन्जिनियर भुषाल सहितको प्राविधिक टोलीले पानी निकाल्न सकिने ठाउँको सम्भाव्यता अध्ययन गर्यो । प्राविधिक टोलीले जिपपार्क माथिपट्टी १ सय ६० मिटर भन्दा नजिकै जमिनको सतहमा पानी रहेको निष्कर्ष निकाल्यो । त्यसपश्चात मेसिन सहित खाडल खनेर पाईप राख्ने काम भयो ।

अहिले उक्त डिप बोरिङ परियोजना सफल भएको छ । १ सय ४२ मिटर गहिरो जमिनबाट पानी तानेर बजारमा वितरण गरिएको छ । बोरिङ मार्फत निकालिएको पानी करङखोला मौरीभिर खानेपानी आयोजनाको ट्यांकीमा खसालिएको छ । सोही आयोजना मार्फत एक घर एक धारा अन्तर्गत उपभोक्ताको घरघरमा पुर्याईएको आयोजनाका सचिव टोपनारायण शाक्यले जानकारी दिनुभयो ।

( Jeevan rajan

“वामीमै तराईको जस्तो जमिनबाट पानी निस्किन्छ भन्दा सुरुमा त धेरैले पत्याएनन् । वडाध्यक्ष हरिहर सापकोटा भन्नुहुन्छ, सुरुमा त धेरैले यसलाई हावादारी समेत भने, अहिले परियोजना सफल भयो हामी पनि खुसी छौँ ।” जमिनबाट निस्किएको पानी शुद्ध नै हुन्छ भनेर जानकारहरुले बताएपनि यसको शुद्धता मापन गर्नका लागि प्रयोगशालामा पठाउने समेत तयारी भईरहेको उहाँको भनाई छ । यससंगै वामीटक्सारमा खानेपानीको समस्या समेत समाधान हुने आफुहरुको विश्वास रहेको सापकोटाले बताउनुभयो ।

१ सय ४२ मिटर गहिराइबाट पानी निकाल्न ३ इन्चको पाइप गाडिएकोे छ भने ६० मिटरको गहिराईमा मोटर जडान गरिएको छ । उक्त आयोजना निर्माणका लागि २१ लाख लागत लागेको छ । जसमध्ये १६ लाख रुपैयाँ मुसिकोट नगरपालिका र बाँकी ३० प्रतिशत भने उपभोक्ताको लगानी रहेको छ ।

मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले विभिन्न श्रोतहरू एकीकृत रुपले उपयोगमा ल्याएर वामीटक्सार बजारको खानेपानीको समस्या समाधान गर्न लागिएको बताउनुभयो । उहाँले डिप बोरिङ आयोजना सफल भएसंगै बर्षौदेखिको वामीटक्सारवासीको स्वच्छ पानी पिउने सपना पूरा भएको बताउनुभयो ।

डिप बोरिङ मार्फत पानी निस्किएको देखेपनि वामीबजार बासीहरु समेत खुसी भएका छन् । खानेपानी कै लागि कयौँ कष्ट भोग्नुपरेका स्थानीयहरु अब भने खानेपानीको समस्या समाधान हुने खबरले उत्साहित छन् । स्थानीय गोपिकृष्ण खरेलले डिप बोरिङको भिजन ल्याएर उपभोक्ताको समस्या समाधान गरेकोमा नगरपालिका प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया