गुल्मी । गत असार २१ देखि २३ सम्म परेको अविरल वर्षासंगैको बाढिले बाँध र नहर बगाएपछि दुई जिल्लाका दुई हजार बढि घरपरिवारका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । परोपकार लघु जलविद्युत र दरमखोला लघु जलविद्युत परियोजनाको बाँधसंगै नहर बडिगाड खोलाले बगाउँदा ठूलो क्षति भएको छ ।
बाढीले नहर बगाएको करिव दुई हप्ता हुँदा पनि संचालन गर्न नसकेका कारण गुल्मीको मुसिकोट नगरपालिका र बाग्लुङ्गको गलकोट नगरपालिका तथा बडिगाढ गाउँपालिकाका नागरिकलाई सास्ती भएको छ । लामो समय बिद्युत नहुँदा उज्यालोसंगै बिद्युतबाट संचालन हुने सवै मेसिनरी औजार तथा उपकरण अवरुद्ध छन् । सवै ठाउँमा बिद्युतको केन्द्रिय प्रसारण लाइन बिस्तार भएको छैन् । परोपकारको बाँध, सय मिटर कुलो र नहर ५० मिटर बाढीले बगाएको छ । संस्थाका अध्यक्ष अर्जुनसिंह ठकुरीका अनुसार झण्डै डेढ करोडको क्षति भएकाले सहयोगको लागि वडादेखि केन्द्रिय सरकार र निकायमा पठाइएको छ ।
उनले तत्काल मर्मत गर्न नसकिने र निर्माण गरेपनि पुन बगाउने जोखिम भएको बताए । ‘प्रहरी मुचुल्का र प्राविधिकद्धारा क्षतिको अवस्था प्रतिवेदन बनाएका छौ । सवै सरकार र निकायबाट सहयोग आवश्यक छ,’उनले भने,‘अहिले मर्मत गर्ने कुनै उपाय छैन् ।’ ०६८ सालमा ६ करोड खर्च संचालन गरिएको परोपकारमा दुई हजार बढि बिद्युत लाभग्राही भएको ठकुरीले बताए । त्यस्तै बाढीले दरमखोला लधुजलबिदुत परियोजनाको पनि ठुलो क्षति गरेको छ । परियोजना अध्यक्ष भुवन केसीका अनुसार बाढीले बाँध र नहर बगाएको छ । मुसिकोट २, ७ र बडिगाड ५ का करिव आठ सय घरधुरीले प्रयोग गर्ने बिद्युतको नहर बाढीले बगाएपछि झण्डै २० लाख बराबरको क्षतिको अनुमान गरिएको केसीले जानकारी दिए । यो परियोजना डेढ दशक बढिदेखि संचालनमा रहेको छ । अहिले अन्धकारमै रहेका केहि लाभग्राहीलाई हुने गरेर क्षणिक मर्मतपछि बिद्युत सुचारु गरिएको संस्थाका अध्यक्ष केसीले बताए । उनले परोपकारसंगै सवै तहमा सहयोगको माग गर्ने बताए ।
केन्द्रिय प्रसारण लाइन पनि भरपर्दो छैन् । त्यसैमा लघु जलबिद्युत अबरुद्ध भएका कारण असार मसान्तको बेला बिद्युत नहुँदा मुसिकोट नगरपालिकालाई समेत सेवा प्रबाहमा ठूलो समस्या भएको थियो । केन्द्रिय बिद्युत नियमित नहुँदा बैकल्पिक व्यावस्था गरेर सेवा अगाडी बढाएको मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले बताए । खरेलले संस्थागत रुपमा पनि नहर संचालनको पहल गरेको र आफुहरुले पनि बाँध निर्माणमा सहयोग गर्न खोजेपनि खोलामा बाढीनै आइरहेकाले नसकिएको बताए । परोपकार लघु जलविद्युत आयोजनाका पूर्व अध्यक्ष गोपिकृष्ण खरेलका अनुसार नहर बगाएपछि विद्युत अवरुद्ध हुँदा गुल्मीको मुसिकोट नगरपालिकका–१, २,३७,८ बागलुङको बढिगाड गाउँपालिका वडानम्बर २, ५ गलकोट नगरपालिकाको वडानम्बर ११ का नागरिक प्रभावित भएका छन् ।
परोपकार लघु जलविद्युत १३५ किलोवाट र दरमखोला लघु जलविद्युत ८५ किलोवाट विद्युत उत्पादन हुँदै आएको थियो । लामो समय लघुबिद्युत अबरुद्ध हुने र केन्द्रिय लाइन बिस्तार नहुने भएपछि स्थानीय नागरिक चिन्तामा परेका छन् ।
होटल व्यावसायी मञ्च वामी शाखाका अध्यक्ष विवेक काफ्लेले व्यवसायीहरुले दुई वटा लघु जल विद्युत तथा केन्द्रीय बिद्युतको उपलब्धता हुँदाहुदै पनि सेवा गुणस्तरिय नभएका कारण ठुलो सास्ती खेप्दै आएको गुनासो गरे । होटल तथा खाजा घरहरुको सेवाको गुणस्तरमा बिद्युत निरन्तर चाहिने भएपनि बिद्युत सेवा सेवालाई चुस्तदुरुस्त नहुँदा लाखौको क्षति व्यावसायीहरुले व्यहोर्नु परेको काफ्लेले बताए ।
उनले बिद्युत नियमित नहुँदा कच्चा पदार्थहरुको सुरक्षा गर्न नसकिने र उपकरणहरुमा ह्रास आउने तथा बिग्रने समस्याबाट बर्षौदेखि पीडित भएको बताए ।
फोटो ः बाढीले क्षति पुराएको मुसिकोट नगरपालिका ७ को परोपकार लघुजलबिद्युत परियोजनाको बाँध र नहर ।