गुल्मी । वर्षातको समयमा मौसम खराबका कारणले गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा झण्डै एक महिना यता उडान अबरुद्ध हुँदै आएको छ । हप्ताको ३ पटक उडानको अनुमति पाएको विमानस्थलमा गत असार १४ गतेपछि मौसम खराबको कारण उडान हुन सकेको छैन् ।
रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको थियो । तर उडान गर्ने बिहानीको समयमा विमानस्थलमा बादल लाग्ने गर्नाले समस्या हुँदै आएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए ।
रेसुङ्गा विमानस्थलमा बिहानी समयमा मात्रै उडानको लागि उपयुक्त हुने प्राविधिकको निष्कर्ष रहेको छ । दिउसको समयमा हावा चल्ने भएकाले उडान गर्न समस्या हुने गर्दछ ।
नेपाल एयरलाइन्सको ट्वीनिटर जहाज उडान गर्दै आएको छ । यात्रुको अत्याधिक चाप बढेपछि रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडानको अनुमति पाएको थियो ।
तर, पछिल्लो केहि समयदेखि शुक्रबार मात्रै उडान भइरहेको स्टेशन प्रमुख थापाले बताए । हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तराष्ट्रिय पर्यटन भित्रिन थालेका छन् । गुल्मीको ऐतिहासिक, धार्मीक तथा पर्यटकीय स्थल रेसुङ्ग, धुर्कोटको बिचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल र रुरुक्षेत्र घुम्न जान थालेका हुन् । गुल्मीमा हाल फ्रान्स, बेल्जियस र स्पेनबाट पर्यटकहरु घुम्नको लागि आइरहेका छन् ।
अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ मिलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गतवर्षको वैशाख २९ गतेबाट व्यवसायिक उडान शुरु गरिएको थियो ।