समृद्धिको लागि कृषि र पशुपालन : एक अर्बकाे खसीबाेका र ४० करोडकाे कृषि उपज निर्यात



टाेपलाल अर्याल


गुल्मी । गुल्मीबाट ४० करोड बढिको मुख्य कृषि उपज र झण्डै एक अर्ब बराबरको खसीबोका निर्यात हुने गरेको पाइएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार आर्थिक बर्ष ०८०/०८१ को १० महिनामा ९१ करोड ७८ लाख ३२ हजार मुल्य बराबरको तरकारी उत्पादन भएको छ । जसमा ४० करोड ६७ लाख १० हजार मुल्य बराबरको कृषि उपज जिल्ला बाहिर निर्यात भएको केन्द्रले जनाएको छ ।

जिल्लामा तरकारी, सुन्तला, कफी, मह, किवी, मसिनो चामल, आलु, उखु, कोदो र अन्य रैथानी बाली गरेर ३१ हजार तीन सय ५७ मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र गुल्मीका बरिष्ठ कृषि विकास अधिकृत नबराज भण्डारीले जानकारी दिए । सवैभन्दा धेरै तरकारी उत्पादन र निर्यात हुने गरेको छ । तरकारी १४ हजार पाँच सय मेट्रिक टन उत्पादन हुँदा तरकारीको कुल उपज मुल्य ३४ करोेड ४० लाख र १९ करोड ४३ लाख बराबरको तरकारी जिल्ला बारिह निर्यात हुने गरेको भण्डारीले बताए । तरकारीको लागि छत्रकोट, सत्यवति र रुरु क्षेत्र गाउँपालिका राम्रो छन् ।
त्यस्तै सुन्तला पनि जिल्लामा राम्रो उत्पादन देखिएको छ । भण्डारीका अनुसार जिल्लाबाट १२ करोड ८४ लाख बराबरको सुन्तला निर्यात भएको पाइएको छ । यो बर्ष छ हजार पाँच सय ७२ मेट्रिक टन अर्थात ३२ करोड २७ लाख मुल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । सुन्तलाको लागि रेसुंगा, धुर्कोट र छत्रकोट अब्बल छन् । कफीको जजनी गुल्मीबाट अहिले ३१ मेट्रिक टन अर्थात तीन करोड ४१ लाख मुल्य बराबरको कफि उत्पादन भएको छ ।

Jeewan and Rajan Tailors

जिल्ला बाहिर एक करोड २० लाख मुल्य बराबरको कफी निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको रुरुक्षेत्र र छत्रकोट उँखुको राम्रो संभावना भएका पालिका हुन् । भने मालिकाका आलुको प्रचुर संभावना रहेको छ । जिल्लाबाट उँखु पाँच सय ८९ र आलु आठ हजार एक सय मेट्रिक टन उत्पादन भएका छन् । किवी र मह तथा कोदो लगायतका रैथाने बालीको पनि राम्रो संभावना रहेको छ ।

The Star Family Restaurant

वार्षिक रुपमा एक लाख २० हजार खसीबोकाहरु बिक्री

गुल्मीमा पशुपालनको राम्रो संभावना दिएको छ । व्यावसायीक पशुपालन गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । छोटो समयमै धेरै आम्दानी हुने भएकाले गोठदेखि व्यावसायीक फर्महरुमा बाख्रा पालन गर्ने गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका अनुसार जिल्लामा खसीबोका बिक्रिवाट जिल्लामा बार्षिक दुई अर्ब ५५ करोड भन्दा बढी आम्दानी हुने गरेको छ ।

बिज्ञ केन्द्रका प्रमुख हुमकान्त पाण्डेयले वार्षिक ९८ करोड मुल्य बराबरको खसीबोका जिल्ला बाहिर निर्यात हुने गरेको बताए । जिल्लाको रुरुक्षेत्र, सत्यवती, मदाने र धुर्कोट गाउँपालिकामा सबै भन्दा बढी बाख्रा पालन हुने गरेको छ । जिल्लाबाट करिव पाँच हजार बिउ बोकाहरु जिल्ला बाहिर निर्यात हुँदै आएका छन् । समग्र स्थानीय तहको तथ्यांक अनुसार जिल्लामा वार्षिक रुपमा एक लाख २० हजार खसीबोकाहरु बिक्रि हुँदै आएको पाण्डेयले बताए ।

अहिले जिल्लामा वार्षिक एक हजार एक सय ६३ मेट्रिकटन मासु उत्पादन हुने गर्दछ । गुल्मीमा जमुनापारी क्रस र बोयर क्रस जातका बाख्राहरु उत्पादन गरिदै आएको छ । गत आर्थिक वर्षमा कार्यालयमा दर्ता भएका चार सय १६ बाख्रा फर्महरु रहेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले बाख्रा पालनका लागि किसान र तिनका समुहहरुलाई खोर निर्माण, विउ, औषधि उपचार, खोप, मेशनरी सामग्री खरिद लगायतका क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएकोे पशु सेवा विज्ञ केन्द्र प्रमुख पाण्डेयले बताए ।

स्थानीय सरकार र हेफरको सक्रियता

जिल्लामा बाख्रा पालन व्यावसायमा स्थानीय सरकार र बाख्रा बिकास परियोजना हेफरको ठूलो योगदान रहेको छ । गुल्मी पश्चिमका पालिकाहरुले उत्पादनमा आधारित अनुदानसंग मासु र दुधलाई जोडेपछि नागरिकमा पशुपालन प्रतिको मोह बढ्दै गएको हो । हेफर इन्टरनेशनलले छुट्टै र स्थानीय तहपछि साझेदारीमा पशुपालनमा किसानलाई उर्जा भर्न, व्यावसायीक र बजारीकरणमा ठूलो सहजीकरण गरेको छ ।

धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले पशुपालनमा स्थानीय तहको ठूलो लगानी भएकाले प्रतिफल बाहिर देखिन थालेको बताए । उनले युवा तथा व्यावसायीक किसानहरुलाई विभिन्न माध्यमबाट पशु उद्यमसंग जोड्न सकेकै कारण बसाईसराईकै चपेटाकाबिच कृषि र पशुपालनमा केहि आशा जागेको बताए । हेफरले जिल्लामा लामो समयदेखि महिलाहरु एकिकृत गर्ने, व्यावसायीक सीप, बिउ मल, प्रविधी र बजारीकरणमा टेवा पुराउँदै आएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया