जापानबाट फर्किएर च्याउ खेती : मासिक चार लाख कमाउँदै गुल्मीकी कमला



टाेपलाल अर्याल


गुल्मी । ४२ वर्षीया कमला भलामी बिहान तीन बजे उठ्छिन् । किनकि झिसमिसेमै च्याउ बोकेर बुटवल झर्ने गाडी उनको घरअगाडि लाइन लाग्छ । दैनिक चार–पाँच सय किलो च्याउ बुटवल पुग्छ । गाडी छुट्ने समयभन्दा पहिले नै च्याउ टिप्ने र प्याकिङ गर्ने चटारो हुन्छ । जापानबाट फर्किएपछि कमलाले यस्तै काममा दिन बिताइरहेकी छिन् ।

कमलाको घर रेसुंगा नगरपालिका–८ खानीगाउँ हो । अहिले च्याउमा कहलिएकी हुन् कमला भलामी । कमला सन् २००८ मा जापान पुगिन् । मासिक साढे तीनदेखि चार लाख कमाइ पनि हुन्थ्यो । तर, बचत थिएन । सन् २०११ मा स्वदेश फर्किएर गाउँमै काम गर्न थालिन् । घरमा गाईभैँसी, बाख्रा, बंगुर थपिन् । ०७४ बाट व्यावसायिक कुरिलो खेती पनि सुरु गरिन् । अहिले दुई रोपनीमा कुरिलो छ । बजार खोज्न पर्दैन । वर्षमा डेढ–दुई लाखको कुरिलो बिक्री हुन्छ । अहिले गाईभैँसी र बंगुर हटाएर च्याउ खेती सुरु गरेकी छिन् । दुई वर्षदेखि श्रीमान् रमेश भलामी पनि घरमै छन् । दुवैजना च्याउ खेतीमै व्यस्त छन् ।

Jeewan and Rajan Tailors

कमलाले चार वर्षदेखि व्यावसायिक रूपमा च्याउ खेती गरिरहेकी छिन् । उनी भन्छिन्, ‘मासिक ३० लाखको कारोबार हुन्छ । खर्च कटाएर मासिक साढे तीनदेखि चार लाखसम्म बस्छ ।’ कमलाले २५–३० जनालाई रोजगारी पनि दिएकी छिन् ।

The Star Family Restaurant

कमलाले पहिलो वर्ष कृषि ज्ञान केन्द्रबाट एक लाख अनुदान ल्याएर एउटा टर्नेलबाट व्यावसायिक च्याउ खेती सुरु गरेकी थिइन् । पहिलो व्यावसायिक टर्नेलबाट करिब ६० हजार नाफा भएपछि कमलालाई च्याउ खेतीमा उत्साह थपियो । बर्सेनि टर्नेल थप्दै गइन् । अहिले कमलाले ७० वटा टर्नेलमा च्याउ खेती गर्छिन् । बाह्रै महिना च्याउ फलाएर बजार पठाएकी छिन् । दैनिक सात सय किलो च्याउ उत्पादन हुँदै आएको कमला बताउँछिन् । जग्गाको भाडा मात्रै वार्षिक दुई लाख ५० हजार तिर्छिन् ।

सुरुमा थोरै सरकारी अनुदान पाए पनि अहिले कसैले सहयोग नगरेको उनको गुनासो छ । भोट मात्रै माग्न आउने तर उद्यमीहरूलाई सहयोग नगर्ने नेताहरूप्रति कमला असन्तुष्टि व्यक्त गर्छिन् । उनी भन्छिन्, ‘चुनावका वेला भोट माग्ने नेताहरूले किसानलाई हेरेनन् ।’ गाउँका किसानको व्यवसाय प्रवद्र्धन गर्न बिचौलियाको अन्त्य गर्नुपर्ने कमलाको धारणा छ । आजको झन नयाँमा गुल्मीबाट टाेपलाल अर्यालले लेख्नुभएको छ । 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया