प्रतिभा पलायन (ब्रेन ड्रेन) कसरी रोक्ने ?



Live Gulmi


लेखक : निशेष श्रेष्ठ

सामान्य भाषामा प्रतिभा पलायन (ब्रेन ड्रेन) भनेको शिक्षित तथा प्रतिभाशाली व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा रोजगारी, उच्चशिक्षा, राजनीतिक अस्थिरता, स्वास्थ्य तथा अन्य विविध कारणले गर्दा हुने पलायनलाई भनिन्छ ।

Jeewan and Rajan Tailors

नेपाल जस्तो विकास उन्मुख देशमा प्रतिभा पलायन नौलो होइन । हाम्रै आसपासका दाजुभाइ, दिदीबहिनी र आफन्तहरु अमेरिका देखि खाडी मुलुकमा आफ्नो प्रतिभा/श्रम बेचेर आफ्नो घर परिवार चलाइरहेको जगजाहेर नै छ । नेपालमा शिक्षित र प्रतिभाशाली यूवाहरु मात्र नभएर मध्यम र निम्न स्तरका श्रमिकहरु पनि रोजगारी र जीविकोपार्जनका लागि पलायन भएका छन् ।

The Star Family Restaurant

जस्तै रेसुंगा इकोसेल ब्लक उद्योगमा ३ दक्ष र ६ अदक्ष गरी ९ जना कामदारहरु थिए । २ वर्ष देखि काम गरिरहेका ३ जना कामदारहरु एकाएक विदेश जाने भनेर काम छोडेर गए नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा बढी नै तलव कमाइरहेका तिनीहरुलाई मैले प्रश्न गरे किन यस्तो गरेको ? उनीहरुको जवाफ मिस्रित थियो । एक जनालाई पहिलाको ऋणले गर्दा घर धान्न मुस्किल भएको, अर्कोलाई दिएको तलव कम भएको र तेस्रोलाई आफ्ना वरिपरीका छिमेकीहरु विदेश गइ मनग्य आम्दानी गरिरहेको त्यसैले जान खोजेको भनी जवाफ आयो ।

हालचाल पनि म संगै केहि वर्ष देखि काम गरिरहेको एक जना लेखापाल (accountant) जापान जाने भनि काम छोडेर हिड्ने तरखरमा छन् । तिनको जवाफ पनि यो देशमा केही नहुने र साथीहरु विदेश गएर धेरै प्रगति गरेको र आफु कतै पछाडी पर्ने हो कि भन्ने डर थियो । यसरी बढ्दो पलायनले हाम्रो स्थानीय अर्थतन्त्र, धर्म संस्कृति र जनसांख्यिकीय बनावट नै बिगारेको छ । यस किसिमको पलायनले हाम्रा गाउँघर रित्तिएका छन् । हाम्रै गाउँमा मलामी जान पुरुषको अभावले गर्दा रेसुंगा इकोसेल ब्लक उद्योग यहिँ सालमा २ पटक बन्द गर्नु पर्यो । यसरी पलायन बढ्नाले गाउँको अर्थतन्त्र धरासाही हुँदै जाने र गाउँघरहरु बृद्धआश्रममा परिणत हुने खतरा झनझन बढ्दो छ ।

बढ्दो प्रतिभा पलायन नियन्त्रण गर्नका लागि सरकार र समाजले ठुलो भूमिका खेल्नुपर्ने देखिन्छ । यस लेख मार्फत हामी सबै मिलेर के गर्न सकिन्छ भन्ने केहि बुदाँहरुमा प्रकाश पार्ने कोसिस गर्नेछु । नेपालको प्रतिभा पलायन हुनुमा उचित श्रम सम्मान नहुनु एक प्रमुख कारण हो । नेपालमा श्रम सम्मानमा जातीय र वर्गीय असमानता देखिन्छ । मेरो बिचारमा बेलायत भ्रमण पछि जंगबहादुर राणाद्वारा ल्याइएको नेपालको पहिलो मुलुकी ऐन १९१० ले नेपालमा श्रमलाई अवहेलना गर्ने बाटो खोलेको हो । विभिन्न किसिमको काम गर्ने विभिन्न जातजातिलाई जात र कामको आधारमा छुटाएर उपल्लो र तल्लो जात बनाएर नेपाली समाजलाई वर्गिकरण गरी “फुटाउ र राज गर” भन्ने सिद्धान्त प्रयोग गरियो । यसको फलस्वरुप अझै पनि नेपालमा छुवाछुत जस्तो सामाजिक विकृति चलनमा छ ।

हाम्रो समाजमा ठुलो र सानो काम भनि अप्रत्यक्ष बर्गिकरण गरिएको छ । जस्तो कि हाम्रै अभिभावकहरु, शिक्षकहरु र समाजले पनि बाल बालिकाहरुलाई धेरै पढेर ठूलो मानिस बन्नु नत्र किसान, भरिया या यस्तै निम्न स्तरको कामदार बनिन्छ भनि आसिस दिएको पाइन्छ । यसरी हाम्रो समाजमा श्रमलाई अवहेलना गर्ने परिवेसले गर्दा प्रतिभा पलायन बढेको छ । छोराछोरी बराबरी भने जस्तो श्रम पनि बराबर हो भन्ने सन्देश हामीले दिन सक्नुपर्छ । समाजमा रहेका विभिन्न किसिमका श्रमिकलाई उचित सम्मान दिनाले गाउँमै भएका प्रतिभा गाउँमै राख्न सकिन्छ । नेपाली शिक्षा प्रणाली व्यवहारिक नहुनुले पनि केहि हदसम्म प्रतिभा पलायनमा सघाएको छ । एउटा माछा, एउटा बाँदर र एउटा हात्तीलाई को छिट्टो रुख चड्छ भन्दा बाँदर नै पहिलो हुन्छ, हो यस्तै बनेको छ । हाम्रो शिक्षा प्रणाली विद्यार्थीहरुको प्रतिभा, सम्भावियता र चाहना नबुझी हाम्रो समाज विद्यार्थीहरुलाई प्रथम बनाउने होड बाजीमा लागेको जस्तो भान हुन्छ । वर्ष भरि लिएको ज्ञान ३ घण्टामा कागजमा उतार्न लगाउनु कतिको जायज हो । यसको बारेमा सोच्ने बेला आएको छ । हाम्रो शिक्षा प्रणाली समय अनुसार अपडेट र व्यवहारिक नभएको जन गुनासो आइरहेको छ ।

शिक्षा सर्वशुलभ र समान बनाउन सरकारको ध्यान जान जरुरी छ । हाम्रो शिक्षा प्रणाली स्थानीय परिवेस अनुसार स्रोतसाधनको पहिचान, स्थानीय उत्पादनको ज्ञान तथा विभिन्न किसिमको तालिमहरु प्रदान गर्ने गरी परिवर्तन गर्न जरुरी छ । जापानमा जस्तै नेपाली विद्यार्थीहरुलाई निम्न तह देखि नै व्यवहारिक र गुणात्मक शिक्षा प्रदान गर्ने प्रणाली विकास गर्न जरुरी छ । आफ्नो काम आफै गर्ने, श्रमको सम्मान सिकाउने र उच्च शिक्षा हासिल गर्दा इन्टरनशिप, भोकेस्नल तालिम जस्ता कार्यक्रम पनि शिक्षा प्रणालीमा ल्याउन जरुरी छ । विद्यार्थीहरुका लागि पेसागत परामर्स, मनोबैज्ञानिक परामर्श तथा खेलकुदका माध्यमबाट हुने शाररिक तथा मानसिक विकासमा जोड दिन जरुरी छ । यसैगरी परिक्षा प्रणालीमा काठमाडौँ विश्वविद्यालयमा जस्तै भारित औसद (weighted average evaluation) प्रणाली अपनाउन जरुरी देखिन्छ । राम्रो शिक्षा प्रणालीले राम्रा प्रशिक्षक र शिक्षकहरुको उत्पादन तथा सभ्य समाजको निर्माण गर्न मद्दत गर्छ यसरी हामीले प्रतिभा पलायन नियन्त्रण गर्न सकिन्छ ।

प्रतिभा पलायन रोक्न स्थानीय र केन्द्र सरकारको भूमिका अत्यन्त जरुरी छ । सबैलाई समान शिक्षा, अवसर र रोजगारी सृजना गर्नुपर्ने स्थानीय र केन्द्रीय सरकारको दायित्व हो । तर नातावाद, कृपावाद र पहुँच कै भरमा सरकारी संयन्त्रलाई प्रभावमा पारी सरकारी स्रोतसाधन सिमित ब्यापारीहरु, पार्टीका कार्यकर्ताहरु र राजनीतिज्ञहरुको हातमा पुगेको छ । सरकारको अनुदानका नीतिहरु पनि बालुवामा पानी खनाए सरी नै भएका छन् ।

स्थानीय सरकार देखि केन्द्र सरकारका नीति वितरणमुखी मात्र देखिन्छ । जस्तो कि हाम्रै अधिकांस स्थानीय तहहरु चालक प्रशिक्षण, कौसी खेती तथा अरु अनुत्पादन क्षेत्रमा बजेट खर्च गर्ने गरेको पाइन्छ । धेरैले यो कुराको बिरोध गर्नुहोला तर अहिले सम्म कौसी खेति देखि चालक प्रशिक्षण जस्ता कार्यक्रमले कतिको रोजगारी सृजना गरेको छ त ? यसका नमुना औंलामा गन्न सक्ने अवस्थामा छ । कृषिमा पनि धेरै अनियमितता भएको हामीले सुनिरहेको नै छौ । लगानीको कमीले गर्दा अनुदान चाहिएका असली किसान र उद्यमी तथा ब्यवसायीहरुलाई पछाडी परेका छन् । पलायन हुन बाध्य भएका छन् । त्यसको अतिरिक्त भ्रस्टाचार र राजनैतिक अस्थिरताले आगोमा घिउ थप्ने काम गरिरहेको छ ।

यस्ता समस्या समाधान गर्नका लागि स्थानीय स्तरमै अनेकौं योजना तथा नीतिहरु ल्याउन सकिन्छ । आफ्नो स्रोतसाधनको प्रयोग गरी स्थानीय स्तरमा उद्योग, व्यवसाय र रोजगारदाताहरुलाई उचित अनुदानको व्यवस्था गर्न सकिन्छ । सरकारी संयत्र प्रयोग गरी चाहिने सिपमुलक तालिम देखि बजारीकरण सम्म सक्दो सहयोग गर्न सकिन्छ ।

स्थानीय युवाका लागि परामर्स केन्द्र, खेलकुद केन्द्र, अनुसन्धान केन्द्र, इन्क्युवेसन कार्यक्रम तथा विभिन्न सिपमुलक तालिम गराउने केन्द्रहरु स्थापना गर्न सकिन्छ । यसरी स्थानीय प्रतिभाहरुको पहिचान गरी त्यसको संरक्षण गर्ने हो भने प्रतिभा पलायन धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । पार्टीहरुले पनि युवाहरुलाई राजनीतिक महत्वकांक्षाको पूरा गर्ने माध्यम मात्र सोंचेर हुँदैन । अहिलेको राजनीतिक दलहरु पनि संयमित भई प्रतिभा पलायनको गम्भीरतालाई बुझ्न जरुरी छ ।

अन्त्यमा हाम्रो नेपाली समाजमा चलिरहेको “नेपालमा केहि हुँदैन”, “यहाँ गरेर पनि केहि हुँदैन, किन गर्न पर्यो र ?” जस्ता नकारात्मक भाष्यलाई चुनौती दिँदै यसको विरुद्धमा सिंगो समाज नै लाग्नुपर्ने देखिन्छ ।

केहि दिन अगाडी एक जना दाई जो यहि होटेल ब्यवसायमा कुक हुनुहुन्छ, भेट हुनुभयो । मासिक सत्र हजार तलव कमाई भएको र १ सय मुरी धान उत्पादन हुने पुर्खेउली खेतहरु हुँदाहुदैपनि सबै खेतहरु बाझो छोडी ओमन जाने तरखरमा हुनुहुन्थ्यो । उहाँको एउटै कुरा थियो खेती गर्न दुख छ र तलवले पुगेन त्यसैले जान लागेको भन्नुभयो । मैले प्रश्न गरे बाबुबाजे देखि हुने तर अहिले आएर नहुने किन ? हो अब समाजको श्रम प्रतिको व्यवहार परिवर्तन गर्ने समय आएको छ । हामी आफैं पनि स्थानीय उत्पादनमा जोड दिँदै, यसको बजारीकरणमा आफ्नो स्तरबाट सक्दो सहयोग गर्नुपर्छ । पाइला टेक्दै गरेका अनेकौं स्थानीय उत्पादन तथा सेवाहरु बिदेशी उत्पादनको गुणस्तर त नहोला तर उत्पादित स्थानीय सामाग्री खपत भए समय अनुसार गुणस्तर बढ्ने तथा भविस्यमा बिदेशी सामानसंग प्रतिस्पर्धा गर्न सक्ने हुन्छन् । यसको ज्वलन्त उदाहरण वाईवाई चाउचाउलाई लिन सकिन्छ । प्रतिभा पलायन रोक्नु सरकारको मात्र नभई सिंगो नेपाली समाजको पनि दायित्व हो । विदेश जान लाग्ने लगानी यहि माटोमा लगाएर रोजगारी सृजना गर्न सकिन्छ । गरे यहीँ हाम्रै माटोमा सुन फलाउन सकिन्छ ।

✍️ निशेष श्रेष्ठ (लेखक श्रेष्ठ गुल्मीका युवा उद्यमी तथा ब्यवसायी हुन् )

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया