बासुदेव पाेखरेल, गुल्मी ।
जब जब सत्ता परिवर्तन हुन्छ, जनताले आशाको दियो बाल्छन्। तर त्यो दियो बुझाउने काम पनि तिमीहरूकै सत्ताको आँधीले हुन्छ।
एकातिर सरकार, अर्कोतिर प्रतिपक्ष – तर दुबैको खेल सत्ताको लुछाचुँडी मात्र।
देश बनाउने हो भन्ने भाषण हुन्छ, तर देश लुट्ने हो भन्ने योजना हुन्छ।
कहिले सरकार दोषी, कहिले प्रतिपक्ष बाधक – तर अन्त्यमा पीडित भने सधैं जनता।
तिमीहरूलाई चाहिएको हो कुर्सी, जनतालाई चाहिएको हो रोटी।
तर तिमीहरूको राजनीतिले जनताको रोटी खोसेको छ, सपनाको टोकरी तोडेको छ।
सरकारप्रति प्रश्न:
– जनतालाई रोजगारी दिने भन्यौ, आज युवाहरू गल्फका गर्मी सडकमा पसिना बगाइरहेका छन्।
– स्वदेशमै अवसर दिने भन्यौ, यहाँ किसानको मल छैन, व्यवसायीको राहत छैन।
– शिक्षा सुधार गर्ने भन्यौ, सरकारी स्कूल आज पनि अधुरो पर्खाल र शिक्षकविहीन छ।
– स्वास्थ्य सुधार गर्ने भन्यौ, बिरामीले अस्पतालको ढोका नाघ्नुअघि ज्यान गुमाउँछन्।
– भ्रष्टाचार नियन्त्रण गर्ने भन्यौ, अहिले त भ्रष्टाचारीकै लागि कानुन बनाउनेतिर लागिएको छ।
सरकार हेर, तिमी भाषण धेरै दिएकौ, अब काम गर नत्र देशले तिमीलाई इतिहासमा कालो अक्षरमा लेख्नेछ।
प्रतिपक्षप्रति प्रश्न:
– सत्तामा हुँदा जति बोलिनौ, अहिले सत्ताबाहिर हुँदा त्यही भाषण दोहोर्याउँदैछौ।
– सडकमा उभिएर आन्दोलन गर्ने, तर भित्रभित्रै कुर्सीको सौदाबाजी गर्ने — यही हो प्रतिपक्षको भूमिका?
– कहिले ‘सरकार असफल भयो’ भन्ने आरोप, तर देशमा कुनै ठोस विकल्प छैन तिमीहरूको।
– जनतामाझ भोलिका सपना देखाउँछौ, तर अघिल्लो कार्यकालमा जनतालाई देखाएको सपना अझ अधुरो छ।
प्रतिपक्ष हेर, तिमी पनि ‘दोष देखाउने विज्ञ’ मात्र होइन, विकल्प दिने जिम्मेवार पक्ष हौ — जबसम्म त्यो निभाउँदैनौ, तिमी पनि दोषी हौ।
दुवैलाई स्पष्ट भन्नुछ :
जनता अब बुझिसकेका छन्।
देशको समस्या सत्तामा छैन, सोचमा छ।
देशको विकासका लागि नीति चाहिन्छ, नीति बनाएर कार्यान्वयन गर्ने हिम्मत चाहिन्छ।
तर तिमीहरू त नीति होइन, नीता बनाउने खेलमा व्यस्त छौ।
एकातिर सरकार विकासको घोषणापत्रमा व्यस्त छ,
अर्कोतिर प्रतिपक्ष सत्ता प्राप्तिको सपना बुन्दैछ।
तर माफ गर — अब जनता तिमीहरूका सपनामा विश्वास गर्दैन।
जनता अब काम देख्न चाहन्छ, परिणाम हेर्न चाहन्छ।
देशको अवस्था हेर्नुस् :
– किसान मलको अभावमा छट्पटिन्छ,
– मजदुर न्यून ज्यालामा शोषित हुन्छ,
– युवा विदेशिने लाइनमा उभिन्छ,
– व्यापारी करको मारमा रुँदैछ,
– बुढाबुढी उपचार नपाएर मर्छन्।
र तिमीहरू संसदमा के गर्दैछौ?
हेलिकप्टर खरिद, गाडी फेरबदल, सुविधा बढाउने ऐन, अनि कुर्सीको भागबन्डा।
के यस्तै देश बनाउने हो?
जनताको सपना तिमीहरूको सौदाबाजीको सामान हो र?
अब चेतावनी होइन – जनताको निर्णय आउँदैछ।
– भाषण होइन, न्याय खोज्दैछ।
– आश्वासन होइन, काम खोज्दैछ।
– कुर्सीको नाटक होइन, सुधार खोज्दैछ।
– सत्ताको साजिश होइन, सकारात्मक नेतृत्व खोज्दैछ।
यदि तिमीहरू अझैपनि सुधारमा नलाग्यौ,
देश चलाउने जिम्मेवारी अझै पनि गम्भीर रूपमा नलियौ,
अब जनताकै आन्दोलनले सिङ्गो राजनीतिक संरचना हल्लाउनेछ।
किनभने देश कसैको जागिर होइन, जनताको अधिकार हो।
अब यो मुलुकमा परिवर्तन भाषणबाट होइन, कामबाट हुनेछ।
(लेखक पाेखरेल सामुदायिक रेडियो धुर्काेटका स्टेशन म्यानेजर साथै शब्द सर्जक पनि हुन् ।)