गुल्मीका स्थानीय तहमा बेथिति : जिम्मेवारी एउटा, काम अर्को



सन्तोष महतारा


सन्तोष महतारा, १५ साउन गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ५ का तेजेन्द्र कार्की कामका लागि जापान जान कागजात बनाउन वडा कार्यालय पुगे । वडा सचिवले टाइप गरेर कागजात बनाउन नजानेपछि उनले सास्ती खेपे । कम्प्यूटर इन्स्टिच्युट गएर बेहोरा टाइप गरी वडा कार्यालय आउँदा समेत कार्कीको काम भएन ।
यति कामका लागि उनी गाउँ कार्यपालिकाको कार्यालय अर्खबाङ्ग पुग्नु प¥यो एक घण्टा टाढा छ । त्यहाँ पनि कर्मचारी कम थिए । ती व्यस्त भएकाले कार्कीले हारगुहार गरेपछि मात्र कागजपत्र प्रिन्ट भयो । तर यत्तिकैमा समस्य सकिएन । सेवाग्राही कार्की भन्छन्, “पछि हस्ताक्षर गर्ने कलमको रङ र स्ट्याम्पको रङले समेत समस्या भयो ।” वडा कार्यालयमा आफ्नो काम जान्ने वडा सचिव नभएकाले उनले यस्तो समस्या भोग्नु परेको हो ।

उनको वडामा स्वास्थ्यकर्मी हिमाल घर्तीलाई वडा सचिव बनाइएको छ जसलाई प्रशासनका कुरा थाहा हुँदैन । मालिकाकै वडा नम्बर २ का वडा सचिव खिमबहादुर घर्ती, वडा नम्बर ३ का वडा सचिव लालबहादुर घर्तीमगर र वडा नम्बर ८ का वडा सचिव सुशिल अर्याल पनि स्वास्थ्यकर्मी हुन् । एक खालको सीप र दरबन्दी भएका कर्मचारीलाई अर्काे खालको जिम्मेवारी दिँदा नागरिकलले सास्ती खेप्नुपरेको छ । गुल्मीका ९३ वटा वडामध्ये १२ वटा वडामा बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मीले जन्मदर्ता, बसाइँसराइ, मृत्युदर्ता र सिफारिसका पत्र लेख्नु परेको छ ।

Jeewan and Rajan Tailors

गुल्मीका सातवटा पालिकाका १८ वटा वडाका सचिवहरू सचिवले गर्ने भन्दा फरक कामको दक्षता भएका छन् । गुल्मीका १२ वटा वडामा स्वास्थ्यकर्मी, दुई वटा वडामा कार्यालय सहायक, एउटा वडामा सब–इन्जिनियर, एउटा वडामा कम्प्यूटर अपरेटर, एउटा वडामा पशु स्वास्थ्य प्राविधिक र एउटा वडामा महिला विकास सहजकर्तालाई वडा सचिवको काम जिम्मा लगाइएको छ ।

The Star Family Restaurant

जागिर र जिम्मेवारी
क्र.सं. स्थानीय तह जागिर  जिम्मेवारी   संख्या
मालिका गाउँपालिका स्वास्थ्यकर्मी वडा सचिव
चन्द्रकोट गाउँपालिका स्वास्थ्यकर्मी वडा सचिव
गुल्मीदरबार गाउँपालिका स्वास्थ्यकर्मी वडा सचिव
रेसुङ्गा नगरपालिका स्वास्थ्यकर्मी वडा सचिव
मदाने गाउँपालिका स्वास्थ्यकर्मी वडा सचिव
इस्मा गाउँपालिका स्वास्थ्यकर्मी वडा सचिव
मालिका गाउँपालिका स्वास्थ्यकर्मी वडा सचिव
चन्द्रकोट गाउँपालिका सब–इन्जिनियर वडा सचिव
गुल्मीदरबार गाउँपालिका कम्प्यूटर अपरेटर वडा सचिव
१० धुर्कोट गाउँपालिका पशु स्वास्थ्य प्राविधिक वडा सचिव
११ मदाने गाउँपालिका महिला विकास सहजकर्ता वडा सचिव
तीन वडा : एक सचिव

मुसिकोट नगरपालिका वडा नम्बर २, ३ र ४ मा वडा सचिव हप्ताको दुई दिन मात्र भेटिन्छन् । किनभने यी तीनवटै वडा दाम बहादुर सोमैले हेर्नुपर्छ । उनी एउटा वडामा गए बाँकी दुईवटा वडा सचिवविहीन हुन्छन् । उनी विदामा बस्दा त तीनवटै वडामा सचिव हुँदैनन ।
यसले गर्दा सेवाग्राहीले समस्या भोग्नु परेको छ, ‘सेवाग्राहीलाई पर्खाएर सचिवलाई फोन गर्नुपर्छ । सचिवले अरु दुई वटा वडाको काम गर्नु पर्ने हुँदा यहाँका सेवाग्राहीले साँझसम्म सास्ती खेप्नुपर्छ । यसले गर्दा नागरिकले समयमै सेवा पाउन सकेका छैनन्, वडा नम्बर २ का वडाध्यक्ष रविन्द्र केसी भन्छन् ।’

वडा सचिव दाम बहादुर सोमैलाई पनि हैरानी छ । उनी भन्छन्, ‘जनतालाई समयमा सेवा दिन नपाइने समस्या छ । अर्कोतर्फ तीनवटा वडाको जिम्मेवारी बोक्दा बोझ हुनेनै भयो । कर्मचारीको अभावले सीमित कर्मचारीलाई बढी बोझ र नागरिकलाई सास्ती भइरहेको छ । आपूm एउटा वडामा हुँदा बाँकी दुई वडा सचिव बिहीन हुन्छन् । ’

वडा सचिव र जिम्मेवारी
क्र.सं. स्थानीय तह वडा सचिवको नाम, थर जिम्मेवारी लिएका वडा
मुसिकोट नगरपालिका दाम बहादुर सोमै २, ३ र ४
कालीगण्डकी गाउँपालिका सागर आले १, २ र ४
मुसिकोट नगरपालिका तिलक राकस्कोटी ५ र ६
मुसिकोट नगरपालिका सुवास सुनार ८ र ९
छत्रकोट गाउँपालिका कृष्णप्रसाद भट्टराई १ र २
छत्रकोट गाउँपालिका खिमलाल पन्त ३ र ४
छत्रकोट गाउँपालिका कमल लम्साल ५ र ६
गुल्मीदरबार गाउँपालिका रामकृष्ण कँडेल ६ र ७
कालीगण्डकी गाउँपालिका सरस्वती पुन ३ र ५
१० कालीगण्डकी गाउँपालिका ओमबहादुर थापा ६ र ७

एउटा क्षेत्रका कर्मचारीलाई अर्काे क्षेत्रको, उसले नजानेको काममा लगाउनुको कारण पनि आवश्यक कर्मचारी नहुनु हो । दुईवटा नगरपालिका र १० वटा गाउँपालिका भएको गुल्मीमा कर्मचारी अभाव नरहेको कुनै पालिका छैन् । पालिकाहरूमा प्रशासन अधिकृतदेखि वडा सचिवसम्मका कर्मचारीहरूको पद खाली छ । केहीमा करारका कर्मचारीहरू भर्ना भएका छन् । केही पालिकामा मात्र स्थायी कर्मचारीको पदपूर्ति भएको छ ।

पाँचवटा पालिका लेखा अधिकृत बिहीन

आर्थिक वर्ष २०७९/८० मा मालिका गाउँपालिकाको वडा नम्बर ५ मा भुस्कात लघुविद्युत आयोजना मर्मतका लागि एक लाख बजेट विनियोजन भएको थियो । मर्मत समितिका अध्यक्ष डोरु गिरी भन्छन्, ‘हामीले सम्झौता बमोजिम काम गरेका थियौं । १८ घरपरिवारको लागि मर्मत गरिएको विद्युतमा श्रमदानबाहेक एक लाख बजेट हो । तर, भुक्तानी हुँदा गाउँपालिकाको लेखा शाखाबाट मात्र ४० हजार भयो । हामी अचम्मित छौं ।’

गाउँपालिकामा लेखा अधिकृत, लेखा सहायक र लेखापाल नहुनाले यसो भएको हो । मालिका गाउँपालिका झण्डै दुई वर्षदेखि लेखा अधिकृत बिहीन छ । मालिका मात्र नभई रुरुक्षेत्र, धुर्कोट, सत्यवती र मदाने गाउँपालिकामा पनि लेखा अधिकृतको पद रिक्त रहेको छ । लेखा अधिकृतको पद खाली रहेका यी पालिकामा लेखा सहायक र लेखापालले काम गर्दै आएका छन् ।

आलेप नै शिक्षा प्रमुख

स्थानीय सरकार सञ्चालन ऐन अनुसार कर्मचारी व्यवस्थापन गर्न बनेको ऐनले सबै स्थानीय सरकारमा आन्तरिक लेखा परीक्षक (आलेप) को व्यवस्था गरेको छ । स्थानीय सरकारको आन्तरिक लेखा परीक्षण गर्न नियुक्ती भएका परीक्षकलाई पालिकाले शाखा प्रमुख समेत बनाएका छन् । बिष्णुप्रसाद ज्ञवाली सत्यवती गाउँपालिकाका आन्तरिक लेखा परीक्षक हुन् । उनको काम गाउँपालिकाको आन्तरिक लेखा परीक्षण गर्ने हो । तर, उनी विगत एक वर्षदेखि गाउँपालिकाको शिक्षा शाखा प्रमुख पनि हुन् । उनको जागिर लेखातिर छ, काम शिक्षामा ।

रेसुङ्गा नगरपालिकामा एक सय ५६ जना कर्मचारी छन् । तीमध्ये ७५ जना स्थायी र ८१ जना करारमा रहेको नगरपालिकाका सुचना अधिकारी शंकर प्रसाद गौतमले बताए । रुरुक्षेत्र गाउँपालिकामा एक सय सात जनाको दरबन्दी छ । तीमध्ये ३७ जना स्थायी र ४० जना करारका कर्मचारी छन् । त्यहाँ ३० वटा पद रिक्त रहेको गाउँपालिकाका सुचना अधिकारी इश्वरी न्यौपानेले जानकारी दिए । मालिका गाउँकार्यपालिकाको कार्यालयमा १९ कर्मचारीको दरबन्दी हो । त्यसमध्ये नौ वटा पदमा मात्र कर्मचारी पूर्ति भएका छन् । सात कर्मचारीको पद खाली छ । तीन कर्मचारी करारमा रहेका छन् । स्थायी कर्मचारी ६ जना छन् । सत्यवती गाउँ कार्यपालिकाको कार्यालयका ३६ वटा दरबन्दीमध्ये ११ स्थायी र १३ करारका कर्मचारीले पूर्ति भएका छन् । १२ कर्मचारीको पद रिक्त रहेको गाउँपालिकाका सुचना अधिकारी नेत्र प्रसाद पाण्डेले बताए ।

मालिका गाउँपालिकामा शिक्षा अधिकृत, प्रशासन अधिकृत, लेखा अधिकृत, इन्जिनियर, सहायक पाँचौ तीन जना र दुई वडा सचिवको पद खाली छ । चन्द्रकोट गाउँपालिकामा लेखापाल, प्रशासन पाँचौ, अहेव र सब इन्जिनियर पद खाली छन् । रुरुक्षेत्रमा प्रशासन अधिकृत, लेखा अधिकृत, सहायक पाँचौ, असिस्टेन्ट इन्जिनियर तीन, स्वास्थ्यमा आयुर्वेद वैद्य, अहेव र अनमी पद खाली छन् । धुर्कोटमा लेखा अधिकृत, प्रशासन अधिकृत, शिक्षा अधिकृत र महिला विकासको पद खाली छ । मदानेमा लेखा अधिकृत, इन्जिनियर, रोजगार संयोजक र सहायक तथा प्राविधिक सहायकको पद खाली छ ।

इस्मा गाउँपालिकामा प्रशासन अधिकृत, इन्जिनियर र केही प्राविधिकको पद खाली छ । मुसिकोट नगरपालिकामा प्रशासन अधिकृत, जनस्वास्थ्य अधिकृत, प्रशासन पाँचौ र चौथो, कृषि प्राविधिक, प्राविधिक सहायक शिक्षाको पद खाली छ । रेसुङ्गा नगरपालिकामा पनि पर्याप्त कर्मचारी छैनन् । कालीगण्डकी गाउँपालिकामा प्रशासन अधिकृत, शिक्षा अधिकृत, कृषि प्रसार अधिकृत, शिक्षा प्रशासन सहायक, सहायक पाँचौं र सब–इन्जिनियरको पद खाली छ । सत्यवती गाउँपालिकामा शिक्षा अधिकृत, प्रशासन अधिकृत, योजना अधिकृत, लेखा अधिकृत, इन्जिनियर र केही प्राविधिकको पद खाली छ । गुल्मीदरबार र छत्रकोट गाउँपालिकाको कार्यसम्पदानमा समस्या नभएपनि आवश्यक पद पूर्ति भएका छैनन् ।

स्थानीय तहमा कर्मचारी अभाव हुँदा समयमा सेवा प्रवाह नहुने, विकास निर्माणका काममा ढिलासुस्ती हुने, एउटै कामका लागि सेवाग्राही पटकपटक कार्यालय धाउनुपर्ने, कार्यालय बन्द गरेर औपचारिक कार्यक्रममा जानुपर्ने लगायतका समस्या देखिएका छन् । स्वास्थ्यकर्मीलाई वडा सचिव बनाउँदा जन्मदर्ता, मृत्युदर्ता, बसाईसराइ र सिफारिस पत्र बिग्रने, वडामा भएका कामको सही अभिलेखीकरण नहुने, समयमा सुचना प्रवाह नहुने, समय बढी खर्च गर्नुपर्ने, कर्मचारीलाई थप तालिममको व्यवस्था गर्नुपर्ने, सुशासनयुक्त र भ्रष्टाचारमुक्त गाउँपालिका बनाउन नसकिने लगायतका समस्या हुने गरेका छन् । गाउँपालिकाको आन्तरिक लेखा परीक्षण गर्ने कर्मचारी शिक्षा शाखा प्रमुख हुँदा अनेकन समस्या थुप्रिएका छन् ।

मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले कर्मचारी अभाव भएकाले कारण स्वास्थ्यकर्मीलाई वडा सचिवको जिम्मेवारी दिनुपरेको बताए । उनका अनुसार, कर्मचारी अभाव हुँदा जनताका कामहरू समयमै गर्न सकिएको छैन् । स्वास्थ्यकर्मीलाई वडा सचिव बनाउँदा कम्प्यूटर चलाउन नजान्ने र अभिलेख व्यवस्थापन गर्न समस्या हुने लगायतका समस्या देखिएका छन् । जुन क्षेत्रका कर्मचारीलाई वडा सचिवमा लगिएको छ, उनीहरूको क्षेत्रमा झन् ब्यापक समस्या देखिन थालेका छन् । स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य संस्था लगायतमा समस्या छ ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले स्थानीय तहमा केही समस्या आएमा आफुले सहजीकरण गर्ने बताए । ‘कानुनी अधिकार तथा जिम्मेवारी त छैन्’ उनले भने, “अप्ठ्यारो पर्दा समन्वय हुन्छ, स्थानीय तहले प्रशासनिक व्यवस्थापनलाई अब्बल बनाउन आवश्यक छ ।” समस्या समाधानको लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी केसीले बताए ।

सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले कर्मचारी अभाव हुँदा नीति निर्माण गर्न तथा कार्यक्रम कार्यान्वयन गर्न समस्या भएको बताए । उनका अनुसार, सेवाप्रवाहदेखि विकास निर्माणका कामसम्म समस्या भइरहेको छ । अध्यक्ष पाण्डेले भने, “कर्मचारी पदपुर्ति नहुँदा नागरिकलाई स्थानीय सरकारको अनुभुती दिलाउन सकिएको छैन् ।” प्रदेश लोकसेवा आयोगबाट माग गरे बमोजिम कर्मचारी पदपुर्ति भएमा समस्या समाधान हुने अध्यक्ष पाण्डेले बताए ।

अभावपछि बेथिति : जिसस प्रमुख

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले पालिकामा आवश्यक कर्मचारी नभएकाले बेथिति भएको बताए । उनले पालिकाको दोहोरो सहमतिका आधारमा कर्मचारी सरुवा हुने व्यवस्था भएपछि कर्मचारी अभाव हुँदै गएको बताए । उनका अनुसार सुरुमा पनि कर्मचारीको अभाव रहेको र बीचमा केही सन्तोषजनक अवस्था रहेको तर अहिले पुनः कर्मचारी अभाव भएको छ ।

कर्मचारी अभावपछि स्थानीय सरकारमा बेथितीहरू पनि बढ्दै गएको समन्वय प्रमुख खत्रीले बताएका छन् । उनले पञ्जिकरणको काम गर्न स्थायी कर्मचारी आवश्यक परेकोले वडाका स्वास्थ्यकर्मी वडा सचिव बन्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको बताए । ‘प्रदेश लोकसेवा आयोगले काम अगाडि बढाएमा सहज हुन्छ’ उनले भने, “स्थानीय सरकारले गरेको मागका आधारमा कर्मचारी पदपूर्ति हुनुपर्छ ।” स्थानीय सरकारमा कर्मचारी पदपुर्ति गर्नको लागि आफुहरूले आवश्यक समन्वय र सहजीकरण गरिरहेको समन्वय प्रमुख खत्रीले बताए ।

ऐन नबन्दा समस्या

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सुचना अधिकारी अश्विन कुमार पोखरेलले प्रदेश लोकसेवा आयोगबाट कर्मचारी पदपूर्ति नहुँदासम्म यसैगरी काम चलाउनुपर्ने बताए । उनका अनुसार, लुम्बिनी प्रदेशमा प्रदेश निजामती ऐन र स्थानीय सरकारी सेवा ऐन बन्न नसक्दा कर्मचारी पदपूर्तिमा समस्या भइरहेको छ ।

नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशका अध्यक्ष खिलध्वज पन्थीले जनशक्ति अभाव भएकाले स्थानीय तहले नागरिकले अनुभुत गर्ने गरी काम गर्न नसकेको बताए । अध्यक्ष पन्थी भन्छन्, ‘लुम्बिनी प्रदेशमा प्रदेश निजामती ऐन र स्थानीय सरकारी सेवा ऐन नबन्दा स्थानीय तहलाई समस्या भइरहेको छ । लुम्बिनी प्रदेशका नगरपालिका र गाउँपालिकाको समेत तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लुम्बिनी प्रदेश सरकारको गम्भीर ध्यानकर्षण गराएका छौं ।’

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया