गुल्मी । गुल्मीमा विद्यार्थीकाे एक समूहले गृहकार्य नगरेपछि आफूहरु अपहरणमा परेको बहाना बनाउँदा अचम्मको घटना भएको छ । मंगलबार बिहानदेखि मदाने गाउँपालिका-६ स्थित पृथ्वी माध्यमिक विद्यालयका यो बहाना बनाउँदा विद्यालय परिसर तरङ्गिग बनेको थियो ।
बिहान कक्षा समय सुरु हुने समय अघि ८ जना विद्यार्थीकाे समूह विद्यालय नजिकै पर्यटकीय स्थल कंकेदेउराली जाने सडकतर्फ लाग्छन् । त्यो समूहले गृहकार्य नगरेपछि बहाना सुरु गर्छन् । त्यसपछि कक्षा ७ मा अध्ययनरत भुवन कुँवर अपहरणमा परेको भनी जंगल लुक्न र बाँकी ७ जनाले साथी अपहरणमा परेको भनी विद्यालयमा खबर गरेको पृथ्वी माध्यमिक विद्यालयका प्रधानाध्यापक मदनबहादुर कुँवरले बताए ।
विद्यालयमा खबर आएपछि यो खबर वडा, पालिका, प्रहरी र जिल्लास्तरीय प्रहरी प्रशासनसम्म पनि खबर पुगेको थियो । जसका लागि प्रहरी प्रशासन परिचालित बनेको थियो । त्यसपछि अपहरण भनिएका विद्यार्थी नजिकै जंगलमा भेटिएका थिए । त्यसपछि पनि विद्यार्थीकाे समूहले हिन्दी भाषा बाेल्ने काला जातिका चार जनाको समूहले अपहरण गरेको बताएका थिए । यद्यपि उनीहरू गृहकार्य नगरेपछि बहाना बनाएको र कुनै अपहरण नभएको विद्यालयका प्रधानाध्यापक कुँवरले बताएका छन् । ‘तर्साउने वा अपहरणकाे घटना वास्तविक होइन’ उनले भने, ‘विद्यार्थीले गृहकार्य नगरेपछि बहाना बनाएका रहेछन् ।’ उनले यस घटनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारीले घटनाको खबर पाएपछि प्रहरी परिचालन गरिएको तर घटना सत्य नभएको पुष्टि भएको बताए ।