गुल्मी यातायातको स्थापना दिवस : अतिआवश्यक रिपोर्टिङमा पत्रकारलाई नि:शुल्क यातायातदेखि सबै यात्रुको बिमासम्म



अनिल खत्री


गुल्मी । २०५२ सालदेखि जिल्लामा यातायात सेवा सुरु गर्दै आएको गुल्मी यातायात प्रालिले आफ्नो २४औँ स्थापना दिवस विभिन्न सामाजिक तथा सेवामुखी कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रालिका अध्यक्ष रुपकलाल श्रेष्ठले पत्रकार महासंघसँग सहकार्य गर्दै जिल्लामा कुनै पनि पत्रकारले रिपोर्टिङका क्रममा गाडी प्रयोग गर्नुपरे निःशुल्क यात्रा सुविधा उपलब्ध गराइने घोषणा गरे ।

अध्यक्ष श्रेष्ठले सूचना प्रवाह र समाचार संकलनमा पत्रकारहरूको भूमिकालाई सम्मान गर्दै यस्तो व्यवस्था गरिएको बताए । पत्रकार साथीहरूले यात्राका क्रममा सहज सेवा पाउनुपर्छ, त्यसका लागि संस्थाले आवश्यक सहकार्य गर्ने उनले बताए । स्थापना दिवसको अवसरमा अध्यक्ष श्रेष्ठले चालक, सहचालक र कर्मचारीको बिमा यसअघि नै गरिसकिएको जानकारी दिए । अबदेखि यात्रा अवधिभर सबै यात्रुको बिमा गरिने व्यवस्था मिलाइने बताए ।

यात्रुको ५ लाखको बिमा बाहेक यात्रा बिमाको लागि थप गर्ने योजना ल्याएको अध्यक्ष श्रेष्ठले बताए ।  यसले यात्रुको सुरक्षालाई थप मजबुत बनाउने विश्वास संस्थाले लिएको छ ।
स्थापना दिवसकै अवसरमा गुल्मी अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो । संस्थाले समय–सयमा चालक, सहचालक र सवारीसाधनको सडकमै प्राविधिक परीक्षण गर्ने कार्यक्रम सञ्चालन गरिएको गुल्मी यातायात प्रालिका महसचिव हिमाल कुँवरले बताए ।

संस्थाले विगतदेखि नै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर रहने जनाएको छ । २०५२ सालमा गुल्मी जिप व्यवसायी का रूपमा सेवा सुरु गरेको संस्था २०५९ सालमा विधिवत् दर्ता भएर सञ्चालनमा आएको हो ।
हाल बुटवल, काठमाडौं लगायत देशका प्रमुख शहरहरूमा नियमित सेवा प्रदान गर्दै आएको कुँवरले बताए । संस्थासँग हाल ४४० वटा सवारीसाधन रहेकोमा ३१७ वटा सवारीसाधन सञ्चालन (रनिङ) अवस्थामा रहेको अध्यक्ष श्रेष्ठले बताए ।

( Jeevan rajan

तीमध्ये १३५ वटा महेन्द्र गाडी, ५८ वटा मिनीबस, ५७ वटा इभी गाडी, ८ वटा स्क्रपियो लगायत अन्य सवारीसाधन सञ्चालनमा छन् । तम्घास र रिडीमा आफ्नै भवनसहित कार्यालय रहेको संस्थाले जिल्लाभर ६८ वटा टिकट काउन्टरमार्फत सेवा दिँदै आएको छ ।
२८० जना शेयरसदस्य आबद्ध यस संस्थामा अर्बौँ रुपैयाँ लगानी रहेको र सयौँ युवाले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाले आगामी दिनमा थप नयाँ सवारीसाधन भित्र्याउने, सेवा विस्तार गर्ने तथा यात्रुको सुविधालाई अझ प्रभावकारी बनाउने योजना सार्वजनिक गरेको छ ।

स्थापना दिवसको अवसरमा गरिएको घोषणाले पत्रकार, यात्रु र स्थानीय समुदायमा सकारात्मक सन्देश दिने संस्थाले जनाएको छ । जिल्लाको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने दिशामा संस्था निरन्तर अघि बढाउने गुल्मी यातायात प्रालिले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया