गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यसहित अबदेखि कार्यक्रमहरूमा मायाको चिनो स्वरूप सेरामिक्सबाट निर्मित माटाका भाँडाकुँडा प्रयोग गर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममार्फत गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले सो जानकारी दिनुभएको हो।
उहाँका अनुसार अबदेखि पालिकाका औपचारिक कार्यक्रमहरूमा प्लास्टिक वा अन्य आयातित सामग्रीको सट्टा स्थानीयस्तरमै उत्पादन भएका भाँडाकुँडा प्रयोग गरिनेछ। यस अन्तर्गत इस्मा कोटको प्रतिमा सेरामिक्स भाँडामा तयार पारेर मायाको चिनो स्वरूप वितरण गरिने योजना पनि रहेको छ।
इस्मा गाउँपालिकाले यस नीतिबाट स्थानीय साना उद्योगको प्रवर्द्धन हुने विश्वास लिएको छ। अध्यक्ष खड्काका अनुसार स्थानीय स्रोतसाधनको प्रयोग गर्दै मौलिकता झल्किने सामग्रीलाई प्राथमिकता दिने नीति पालिकाले अवलम्बन गरेको हो।
इस्माको बुल्ममा कुमाल समुदाय परम्परागत रूपमा माटाका भाँडाकुँडा उत्पादन गर्दै आएका छन्। पछिल्ला वर्षमा आधुनिक प्रविधिको प्रयोग गरी कलात्मक सेरामिक्स भाँडाहरू उत्पादन हुन थालेका छन्। तर प्लास्टिकजन्य वस्तुको बढ्दो प्रयोगका कारण कुमाल समुदायको परम्परागत पेसा संकटमा परेको छ।
यसलाई ध्यानमा राख्दै पालिकाले अबदेखि प्लास्टिकजन्य खादा तथा मालाको प्रयोगमा पूर्ण रूपमा रोक लगाउने निर्णय पनि गरेको छ। अब पालिकाका सबै औपचारिक कार्यक्रमहरूमा प्राकृतिक र वातावरणमैत्री विकल्प प्रयोग गरिनेछ।
त्यस्तै, गाउँपालिकाले फूल खेतीलाई प्रोत्साहन गर्न कृषकहरूलाई आवश्यक स्रोतसाधन र प्राविधिक सहयोग उपलब्ध गराउने नीति पनि ल्याएको छ। यसले स्थानीय बजारमै फूलको माग पूरा हुनुका साथै कृषकहरूको आम्दानीसमेत बढ्ने अपेक्षा गरिएको छ।
इस्मा गाउँपालिकाको नीति वातावरणमैत्री, आत्मनिर्भर र स्थानीय उद्योगमुखी अभ्यासको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ।