गुल्मी । तीन वर्षअघि आर्थिक संकटकाल घोषणा गर्न बाध्य भएको गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले उल्लेखनीय प्रगति गर्दै पुनः स्थायीतर्फ अग्रसर भएको छ। विगतमा बन्द हुने अवस्थामा पुगेको यो क्याम्पसले पछिल्ला तीन आर्थिक वर्षमा उल्लेख्य सुधार गरेको छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले पत्रकार सम्मेलनमार्फत क्याम्पसको प्रगतिको जानकारी दिनुभयो। उहाँका अनुसार विगतमा क्याम्पसको आम्दानीभन्दा दोब्बर तलब खर्च हुने गरेको थियो, जसका कारण प्रत्येक वर्ष झन्डै डेढ करोड रुपैयाँ ऋण थपिँदै गइरहेको थियो। खर्च नियन्त्रण र स्रोत व्यवस्थापनमार्फत सुधारको बाटो तय गरिएको अध्यक्ष भलामीले बताउनुभयो।
उहाँका अनुसार सुरुमा सात जना प्राध्यापक र दुई जना कर्मचारीलाई अनिवार्य अवकाश दिइयो। विश्वविद्यालयको नियमअनुसार दशभन्दा कम विद्यार्थी भएको कक्षा सञ्चालन गर्न नपाइने भएकाले यस्तो निर्णय लिइएको थियो। साथै प्रशासनिक तथा अन्य खर्चहरूमा समेत कटौती गरिँदै गएको छ।
क्याम्पस प्रमुख सूर्यप्रसाद उपाध्यायका अनुसार खर्च कटौतीसँगै आम्दानी बढाउने उपायहरू पनि अपनाइएको छ। प्रशासनिक खर्च घटाउँदै क्याम्पसले आम्दानी गर्ने प्रयास थालेको र त्यसको सकारात्मक प्रभाव देखिन थालेको उहाँले जानकारी दिनुभयो।
शैक्षिक सत्र २०७९/०८० मा ७४९ विद्यार्थी अध्ययनरत रहेकामा २०८०/०८१ मा घटेर ७१९ पुगेको विद्यार्थी संख्या २०८१/०८२ मा पुनः बढेर ७३१ पुगेको छ। स्नातक तथा स्नातकोत्तर तहका कक्षा सञ्चालन भइरहेको यस क्याम्पसमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दो छ।
वि.सं. २०३९ मा स्थापना भएको रेसुङ्गा बहुमुखी क्याम्पसले ४३ वर्षदेखि उच्च शिक्षाको सेवा दिँदै आएको छ। ७ वटा सुविधा सम्पन्न भवन र ६५ रोपनी क्षेत्रफलमा फैलिएको यो क्याम्पसले अब आर्थिक आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिएको छ।
हाल क्याम्पसमा १५ जना पूर्णकालीन र १० जना आंशिक प्राध्यापकसहित २५ जना प्राध्यापक तथा ७ जना कर्मचारी कार्यरत छन्। ग्रामीण क्षेत्रका क्याम्पसहरूमा विद्यार्थी घट्दै गएको सन्दर्भमा रेसुङ्गा क्याम्पसको पुनरुत्थानले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिएको छ।