गुल्मी । गुल्मीमा नसर्ने तथा सङ्क्रामक रोगको न्यूनिकरणका लागि ‘स्वास्थ्य मन्त्री कार्यक्रम’ सम्पन्न गरिएको छ। गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र, तम्घासको आयोजनामा रेसुङ्गा नगरपालिका–९ मा आयोजित उक्त कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने उद्देश्य राखिएको छ।
गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख जीवन बस्यालका अनुसार हाल तीव्र रूपमा बढ्दै गइरहेका मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मोटोपनाजस्ता रोगहरूबारे जनमानसमा चेतना फैलाउने र समयमै नियन्त्रणका उपाय अवलम्बन गर्न प्रेरित गर्न कार्यक्रम आयोजना गरिएको हो।
उनका अनुसार जीवनशैलीमा आएको परिवर्तन, शारीरिक गतिविधिको कमी, असन्तुलित खानपान तथा तनावले गर्दा यस्ता रोगहरू तीव्र रूपमा फैलिँदै गएका छन्।
कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय बासिन्दा, विद्यार्थी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टरहरू सुरज पाण्डे र आविस्कार अधिकारीले रोगहरूको पहिचान, प्रारम्भिक लक्षण, रोकथामका उपाय तथा आयुर्वेदिक उपचार पद्धतिबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।
वैध निरीक्षक चन्द्रप्रसाद भुसालले कार्यक्रममा स्थानीय बासिन्दामा रोगप्रति चेतना अभिवृद्धि हुनुका साथै आयुर्वेदिक जीवनशैली अपनाउन पनि प्रेरणा मिलेको बताए।
रेसुङ्गा नगरपालिका–९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले पछिल्लो समय समाजमा नसर्ने रोगका बिरामीको संख्या बढ्दो रहेको हुँदा यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको उल्लेख गरे। उनले भौतिक विकाससँगै मानव विकासका लागि यस्ता सचेतनामूलक कार्यक्रमहरू प्रभावकारी हुने धारणा राखे।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले प्रतिनिधिमूलक रूपमा कार्यक्रम सफल भएको बताउँदै समाजमा बढ्दो रोगप्रतिको चिन्ता व्यक्त गरे। उनले खानपान र जीवनशैली सुधारमार्फत मात्र यस्ता रोगहरू नियन्त्रण गर्न सकिनेमा जोड दिए।
गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाका सबै १२ वटा स्थानीय तहमा स्वास्थ्य मन्त्री कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। हालसम्म मालिका गाउँपालिका र रेसुङ्गा नगरपालिकामा कार्यक्रम सम्पन्न भइसकेको निरीक्षक भुसालले जानकारी दिए।