गुल्मी । गुल्मी जिल्लामा गहुँ उत्पादन वर्षेनी घट्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा गहुँ खेती गर्ने कृषकको संख्या घट्दै जाँदा उत्पादन पनि घट्दै गएको हो । जिल्लामा गत आर्थिक वर्ष २०८०/०८१ मा ६३७० हेक्टर क्षेत्रफलमा गहुँ खेती भएको थियो । जसमा १९ हजार ५ मेट्रिक टन उत्पादन भएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७९/०८०मा ६४८० हेक्टर क्षेत्रफलमा १९ हजार ३७५ मेट्रिकटन गहुँ उत्पादन भएको कृषि ज्ञानेकन्द्र गुल्मीका कृषिप्रसादर अधिकृत शिवप्रसाद बञ्जाडेले बताए । वर्षेनी गहुँ उत्पादन गर्ने क्षेत्रफल घटदै गएको छ । यसवर्ष पनि गहुँ भित्र्याउने समय सुरु भएको छ । यसवर्ष पनि हिउँदको समयमा पानी नपरेकाले उत्पादन घट्ने अनुमान कृषि ज्ञानकेन्द्र गुल्मीले गरेको छ । जसले गर्दा उत्पादनमा पनि कमि आएको बञ्जाडेले बताए । जिल्लामा बिशेष गरि जेहाङ्ग, अर्बेनी, चौरासी, मजुवा, हर्मिचौर लगायतका स्थानमा पर्याप्त मात्रामा गहुँखेती गरिदै आएको छ ।
गहुँ उत्पादन दर मौसम अनुसार तलमाथी भएपनि उत्पादन गर्ने कृषकको संख्यामा कमी हुदै गएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । हिउँदे वर्षा हुँदा गहुँ वाली धेरै हुँदा मात्रै गहुँ खेती राम्रो हुने गर्दछ । तर पछिल्ला केहि वर्ष यता हिउँदको सिजनमा वर्षात कम हुदा उत्पादन पनि घटदै गएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–५ का कृषक कृष्णप्रसाद भण्डारी गहुँ उत्पादन गर्दै आएका छन् ।
पछिल्ला केहिवर्ष यता हिउँदे वर्षात नहुँदा गहुँ उत्पादन घट्ने गरेको कृषक कृष्णप्रसाद भण्डारीले बताए । उनले ४ रोपनी जमीनमा गहुँ खेती गर्दै आएका छन् । भण्डारीले ०६७ सालबाट गहुँ खेती गर्दै आएका हुन् । जिल्लामा उत्पादन भएको गहुँ स्थानिय स्तरमै बिक्री हुने गर्दछ । जिल्लामा पछिल्लो समय यता बजारमा पाइने प्याकिङ्ग आटा पाउन थालेसँगै पहिलेको तुलनामा गहुँखेती गर्न कृषकहरु उत्साहित छैनन् ।
उत्पादन योग्य जमिन पनि बाँझै छोडेर बजारमा पाइने गहुँको आटा किन्ने गर्नाले गहुँ खेतीगर्ने कृषक कम हुँदै गएका छन् । समयमा वर्षातसँगै मल बिउ राम्रो परेको खण्डमा मात्रै गहुँ उत्पादन वढ्ने कृषकहरु बताउछन् ।