बौद्धिक अपांगता संघ गुल्मीमा ६ लाखको अक्षयकोष स्थापना



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लामा अपांगताको क्षेत्रमा काम गर्दै आएको बौद्धिक अपांगता अभिभावक संघलाई जिल्लाका २ जना समाज सेवीले ६ लाख राशीको अक्षयकोष स्थापना गरेका छन् । जिल्ला सदरमुकाम तम्घासमा रहेका इश्वसरी पौडेल र मृगेन्द्र श्रेष्ठले अक्षयकोष स्थापना गरेका हुन् ।

बौद्धिक अपांगता अभिभावक संघ गुल्मी ११ औँ साधारण सभाको अवसरमा तम्घास निवासी इश्वरी पौडेलले ५ लाख राशीको अक्षयकोष स्थापना गरेका छन् । पौडेल परिवारकै छोरा डा. आयुष पौडेलले अपाङ्गता भएका बालबालिकाहरुलाई मनोरञ्जन प्रदान गर्ने उदेश्यले एक लाख भन्दा माथिको टेलिभिजन प्रदान गरेका छन् । त्यस्तै तम्घासका स्थानीय मृगेन्द्र श्रेष्ठले एक लाखको अक्षयकोष स्थापना गरेका छन् । बौद्धिक अपांगता भएका बालबालिकाहरुको सहयोगार्थ उक्त राशीको अक्षयकोष स्थापना गरिएको अक्षय कोष दाता मृगेन्द्र श्रेष्ठले बताए । २०६४ सालमा स्थापना भएको बौद्धिक अपांगता अभिभावक संघ गुल्मीले अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा सक्रियताका साथ काम गर्दै आएको छ । यस संस्थाले जिल्लाको उपल्लो तम्घासमा पढने बौद्धिक अपांगता बालबालिकहरुको सहयोगार्थ विभिन्न कार्यहरु गर्ने गरेको छ ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले यस संस्थाले अपाङ्गताको क्षेत्रमा संघले गरेका कामको प्रशंसा गरे । उनले बौद्धिक अपांगताभएका बालबालिकाहरुको साथमा स्थानीय सरकार रहेको बताए । रेसुङ्गा नगरपालिका अपांगता भएका नागरिकको साथमा रहेको हुँदा यहाँको कार्यालय संचालनमा समस्या भए आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । बौद्धिक अपांगता अभिभावक संघ, गुल्मीले भवन निर्माण गर्दा आर्थिक सहयोग गर्ने सहयोगी दाता, अक्षयकोष स्थापना गर्ने दातालाई सम्मान गरेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया