गुल्मी । गुल्मीमा पैंचो नमुना कृषि उत्पादन केन्द्र संचालनमा आएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ खज्र्याङको खरिबोट टारीमा पैंचो नमुना कृषि उत्पादन केन्द्र संचालनमा आएको हो ।
खर्ज्याङको खरिबोटमा बाँझो ६० रोपनी जग्गालाई हाल गोलभेंडा (टमाटर) खेतीको रुपमा विकसित गर्दै पैंचो पसल प्रा.लिले नमुना कृषि केन्द्रको शुभारम्भ गरेको हो । नेपालको पहाडी क्षेत्रमा कृषि उत्पादनको सम्भावना तथा त्यसको खोजी, पहाडमा प्राकृतिक रुपमा उत्पादन भएका कृषि उपजको उत्पादकत्व वृद्धि, र बजारीकरण गर्दै ग्रामीण अर्थतन्त्रलाई सशक्त बनाउने उद्देश्यसहित स्थापना भएको पैंचो पसल प्रा.लिले कृषिमा चक्लाबन्दी संरचनामा उत्पादन गर्न पैंचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा ल्याएको पैंचो पसल प्रा.लिका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानले जानकारी दिए ।
पहिलो चरणमा ६० रोपनीमा आधुनिक प्रविधिको प्रयोग गरी टमाटर खेती शुभारम्भ गरिएको न्यौपानेले बताए । त्यसैगरी गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ पुर्खेमा एक सय ५० रोपनी तथा मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा करिब तीन सय रोपनी जग्गा भाडामा लिएर एकीकृत कृषि फर्म सञ्चालनमा ल्याएको छ । तीन स्थानमा जग्गा व्यवस्थापन र सिँचाई प्रणालीको स्थापना गर्न एक करोड ५० लाख पुँजीगत लागत लाग्ने अनुमान गरिएको छ । बढ्दो बसाइँसराइ कम गर्न, कृषिको सम्भावनाको खोजी, प्रविधिको हस्तान्तरण, न्यून सञ्चालन लागत तथा स्थानीय रोजगारीको सृजना यस नमुना उत्पादन केन्द्रको मुख्य उद्देश्य हो ।
उत्पादन भएका कृषि उपजलाई पैंचो प्रशोधन केन्द्र रिडीमा प्रशोधन गरी केचअप, जाम र अचार लगायतका वस्तु उत्पादन गर्ने गरिएको छ । पैंचो उत्पादनमा उच्च पहाडी कृषि उपजको प्रयोग गर्ने गरिएको छ । पैंचोले गुल्मी, अर्घाखाँची, पाल्पामा कृषि उपजको संकलन तथा बजारीकरणका गर्न १३ वटा आफ्नै शाखा तथा १२ वटा फेन्चाईज र रिडीमा अत्याधुनिक प्रशोधन केन्द्र संचालन गरी पैंचो उत्पादनहरु स्वदेश तथा विदेशमा बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीमा ४८ जना शेयर सदस्य, तीन सय जना प्रत्यक्ष रोजगारी तथा हजारौं अप्रत्यक्ष रोजगारी र २५ हजार कृषकसँग काम गर्दै आइरहेको छ ।
लामो समयदेखि सहरमा बसोबास गर्दै आएपनि गाँउबस्तीको परिकारलाई भुल्न नसकेका उपभोक्तालाई गाउँघरको उत्पादन त्यसमा पनि पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषि उत्पादनहरुको बजारिकरण गर्ने उद्देश्यले २०७१ मा ‘बसेपनि सहर, गाँउकै खाने रहर’ भन्ने मुल मन्त्रलाई आत्मसाथ गुल्मीकै बलेटक्सारमा पैंचो पसल सुरु भएको थियो । गाउँबाट सुरु गरिएको पंैचो पसलले अहिले नेपालभर र विदेशमा अमेरिका, जापान, अष्ट्रेलिया, यूएई, कतार लगायतका देशमा आफ्नो उत्पादनहरु विक्री गर्दैआएको छ ।
परम्परामा सीमित भैसकेको वस्तु विनिमय प्रथालाई आधार मान्दै पहाडी ग्रामीण क्षेत्रका जनताको उत्पादनलाई बजारसम्म पुर्याउने र उपयुक्त बजार प्रवर्धन गर्ने लक्ष्यका साथ संचालित रहेको पैंचो पसल प्रा.लिका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानले बताए । पैंचोले अहिले पैंचो टोमेटो केचअप, मेक्सिकन सस, पंैचो अचार, पैंचो होल क्यान कर्न, पंैचो आटो, पैंचो कोदोको पिठो, पैंचो जाम, सिन्की र मस्यौरा जस्ता उत्पादनहरु उत्पादन गर्छ । यस्तै जुम्लाका सिमी, पहाडी जिल्लाका मकैको आटो (च्याँख्ला), जस्ता पहाडी तथा उच्च पहाडी जिल्लाका खाद्य वस्तुहरु प्याकेजिङ गरी बजारमा पुर्याउँदै आएको छ ।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले पैंचो पसलले गुल्मीमा किसानका उत्पादनको बजार सुनिश्चत गरेको बताए । उनले देशमा खुला अर्थनीति भएकोले राज्यले आफैं खरिदविक्री गर्न शासकीय स्वरुप नै फेर्नुपर्ने भएकोले राज्यले गर्न नसकेको काम निजी क्षेत्र पैंचोले सम्भव तुल्याएको बताएका थिए ।
पैंचो नमुना कृषि उत्पादन केन्द्रको उद्धाटन गर्दै छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले गाउँको कृषि उत्पादनको बजार ग्यारेण्टी गरेकोमा भन्दै पैंचोको प्रशंसा गरे । उनले निजी क्षेत्रसँग सहकार्य गरेर कृषिबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै उत्पादनमा सक्रिय पैंचोले पहाडी भेगको सम्भावनालाई थप उजागार गरेको बताए ।