गुल्मी । गुल्मीकी १४ वर्षीया बालिकाको भारतमा बलात्कारपछि हत्या भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ का ज्ञानबहादुर नेपाली र आस्था नेपालीकी छोरी रेखा नेपालीको हरियाणा गुरुग्राममा बलात्कारपछि हत्या भएको हो ।
मृतक रेखाका आफन्त कमल नेपालीले भारतबाट दिएको जानकारी अनुसार, २२ गते सोमबार साँझ रेखा पसलमा निस्केकी थिइन् । उनलाई आफ्नै कोठामा लगी गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर २ अस्थोक अमराईका हाल हरियाणामा रहेका ४५ वर्षीया पुरुषले बलात्कारपछि हत्या गरेको परिवारको आरोप छ ।
मृतक रेखाको शव पोष्टमार्टम भइसकेको छ । उनको शव आरोपित पुरुषकै कोठामा फेला पारिएको थियो । बलात्कारपछि घाँटी रेटेर हत्या गरेको प्रारम्भिक निष्कर्ष छ ।
रेखाका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका छन् । हालसम्म आरोपित पुरुष पक्राउ पर्न सकेका छैनन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मृतक रेखाका बुबाआमा र एक भाइ छन् । उनीहरु विगत छ वर्षदेखि भारतमा बस्दै आएका थिए । आरोपित पुरुष पनि रोजगारीका लागि भारतमै थिए ।