सुमन महतारा, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा ६ दिन सम्म एकीकृत घुम्ती शिविर सञ्चालन हुने भएको छ । कार्तिक १९ गतेदेखि २४ गतेसम्म शिविर सञ्चालन हुने भएको हाे ।
शिविर पहिलाे १९ गते वडा नम्बर एक हस्तिचाैर दोस्रो दिन २० गते वडा नम्बर दुईको छल्दिटारि,तेस्रो दिन २१ गते वडा नम्बर ३ काे दर्लामचाैर,चाैथाे दिन २२ गते वडा नम्बर ४ काे दाेहाेलि,पाचौं दिन २३ गते वडा नम्बर ६ काे अम्परपुर र छैटौं दिन वडा नम्बर ५ काे रजस्थलमा शिविर सञ्चालन हुने भएको हाे ।
वडा तहमा टाेल विकास संस्थाले गर्ने याेजनाहरु,गाउँपालिकाका हरेक शाखाबाट सञ्चालन हुने सेवाहरुलाइ वडा तहमै पुगेर नागरिकको सहजताका लागि वडा तहमै घुम्ती शिविरको आयोजना गरिएकाे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताए । उनले एकीकृत घुम्ती शिविरका लागि प्रत्येक शाखाहरु तयार रहेको पनि बताए ।
शिविरमा याेजना सम्झौता ,याेजना फरफारक,जेष्ठ नागरिक परिचयपत्र ,एकल पुरुष परिचयपत्र ,सामाजिक सुरक्षा भत्ता ,व्यावसाय दर्ता र व्यावसायक नविकरण लगाएतका कामहरु गरिने गाउँपालिका उपाध्यक्ष अधिवक्ता/प्रवक्ता पार्वती कुवँरले बताइन्
। उनले एकीकृत घुम्ती शिविरमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण (सुगर र प्रेसर समेत) तथा औषधी वितरण, शंकास्पद क्षयरोगीको लागि खकार परीक्षणको लागि नमूना संकलन, गर्भवती महिलाको लागि ग्रामीण अल्ट्रासाउन्ड सेवा, पशु स्वास्थ्य परीक्षण र औषधी वितरण लगायतका सेवाहरु प्रदान गर्न एकिकृत घुम्ती शिविर सञ्चालन गरिने भएको उपाध्यक्ष कुवँरले बताइन् ।
गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले सामान्य टाेल विकास संस्थाले गर्ने याेजनाहरु देखि लिएर अन्य कामहरुका लागि गाउँपालिका धाउनुपर्ने समस्यालाई एकीकृत गरि एकैपटक वडाबाटै एकैठाउँबाट धेरै सेवाहरु घुम्ती शिविरबाट दिइनका लागि शिविरको आयोजना गरिएको बताए । उनले शिविरमा धेरै नागरिक उपस्थित भएर लाभ लिन समेत आग्रह गरेका छन् ।
गाउँपालिकाले गत आर्थिक बर्ष पनि प्रत्येक वडाहरुमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको थियो । त्यतिबेला हरेक शाखाहरुबाट ३४७६ बढि सेवाग्राहीले सेवा लिइएका थिए । सबैभन्दा बढि बृद्ध बृद्धाकाे स्वास्थ्य परिक्षण गरिएको थियो । ९१६ जनाकाे स्वास्थ्य परिक्षण र औषधि बितरण गरिएको थियो ,८६२ पशुपन्छि चेकजाँच औषधि बितरण र माटो परिक्षण लगाएतका कार्यप्रगति भएको थियो ।