महेन्द्र माविमा निःशुल्क रक्त समूह पहिचान तथा रक्तदान सचेतना कार्यक्रम



Live Gulmi


गुल्मी । नेपाल स्वयंसेवी रक्तदाता समाज, गुल्मीको आयोजना र महेन्द्र माध्यमिक विद्यालयको सहकार्यमा सञ्चालित निःशुल्क रक्त समूह पहिचान तथा रक्तदान सचेतना कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा गुल्मी जिल्ला अस्पतालकी स्त्री रोग विशेषज्ञ डा. सोफिया थापाले रगतको महत्व र सुरक्षित रक्तदान प्रक्रियाबारे जानकारी दिनुभयो।

उहाँले १८ वर्ष पुगेका स्वस्थ युवाहरूलाई नियमित रक्तदान गर्न प्रेरित गर्दै यसले स्वास्थ्यमा कुनै हानि नगर्ने बताउनुभयो।
​विद्यालयका प्रधानाध्यापक कृष्ण मरासिनीले सामाजिक उत्तरदायित्व र मानवीय सेवाका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो। कार्यक्रमको दोस्रो दिन १८० जना सहभागी भएकोमा १५० जनाको रक्त समूह परीक्षण गरिएको छ। परीक्षणमा जिल्ला अस्पतालका ल्याब टेक्निसियन राजु मरासिनी र सिता श्रेष्ठले प्राविधिक सहयोग गर्नुभएको थियो।

संस्थाका जिल्ला अध्यक्ष ध्रुब पाण्डेको अध्यक्षता र सचिव वीर बहादुर कार्कीको सञ्चालनमा भएको कार्यक्रममा राम प्रसाद पन्थी प्रमुख अतिथि रहनुभएको थियो। रगत अभावका कारण जिल्लामा कसैले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले जिल्लाका अन्य विद्यालय र समुदायमा पनि यो अभियान लैजाने आयोजकले जनाएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया