गुल्मीमा विद्यार्थीहरूका लागि रक्त समूह पहिचान तथा सचेतना कार्यक्रम सुरु



Live Gulmi


गुल्मी । गुल्मीमा विद्यार्थीहरूका लागि निःशुल्क रक्त समूह पहिचान तथा रक्तदान सचेतना कार्यक्रम सुरुवात भएको छ। नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीको आयोजना र रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोगमा सोमबार रेसुङ्गा बहुमुखी क्याम्पस, तम्घासमा कार्यक्रम सम्पन्न भएको हो।

गुल्मी अस्पतालमा बिरामीहरूका लागि रगतको अभाव हुन नदिन सुरु गरिएको यस कार्यक्रमले कुल ५०० जना विद्यार्थी लक्षित गरेको छ । अभियान अन्तर्गत रेसुङ्गा बहुमुखी क्याम्पस, महेन्द्र माध्यमिक विद्यालय, सिद्धबाबा माध्यमिक विद्यालय र रेसुङ्गा माध्यमिक विद्यालयमा कार्यक्रम संचालन हुनेछ। अभियानको पहिलो दिन सोमबार रेसुङ्गा बहुमुखी क्याम्पसमा १२० जना भन्दा बढी विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले औपचारिक रुपमा उद्घाटन गर्दै रक्तदान मानव जीवन बचाउने सबैभन्दा ठूलो सामाजिक र मानवीय अभियान भएको बताउनुभयो। उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्र संवेदनशील नै हो, त्यसैमाथि रगतको काम गर्नु आफैंमा पुण्य कर्म हो। विकास निर्माणका कामहरू महत्वपूर्ण छन्, तर एउटा नागरिकको जीवन बचाउनु त्योभन्दा ठूलो सेवा हो।” नगर प्रमुख पन्थीले गुल्मी अस्पतालमा रगत अभाव हुन नदिन रक्तदाता समाजसँग सहकार्य गरिएको र नगरपालिकाले मानवीय अभियानमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विशेष अतिथि रेसुङ्गा नगरपालिका वडा नं. १ का वडाध्यक्ष रामप्रसाद पन्थीले समाजमा रक्तदान संस्कार विस्तार गर्न आवश्यक रहेको बताउँदै युवाहरूलाई नियमित रक्तदानमा सहभागी हुन आग्रह गर्नुभयो।

( Jeevan rajan

रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सूर्य प्रसाद उपाध्यायले विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले क्याम्पसले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा गुल्मी जिल्ला अस्पतालकी डा. सोफिया थापाले रगतको महत्व, सुरक्षित रक्तदान, रक्त समूह पहिचान तथा आकस्मिक अवस्थामा रगतको आवश्यकताबारे जानकारी दिनुभएको थियो भने पेन पल्स कार्यक्रमका एच.ए. जय विकले रक्तदानसम्बन्धी सचेतनामूलक धारणा राख्नुभएको थियो।

नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीका अध्यक्ष ध्रुव पाण्डेले रक्तदान सम्बन्धि ज्ञान कमै हुने पाइएकाले विद्यार्थीमार्फत यो सचेतना फैलाउन कार्यक्रम अगाडि बढाएको बताउनुभयो। अध्यक्ष पाण्डेले समाजले हाल मृगौला डायलाईसिस गरिरहेका २८ जना र वार्षिक १६० जना बिरामीलाई रगत सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

समाजका अध्यक्ष ध्रुव पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव वीर बहादुर कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन सहायक प्रमुख नारायण भुसालले गर्नुभएको थियो। रक्त समूह परीक्षणमा ल्याब टेक्निसियन राजु मरासिनी र सीता श्रेष्ठले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष नमराज मरासिनी, जनप्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया