गुल्मी । गुल्मीमा राहदानी घरमै पुर्याउन जिल्ला प्रशासन र हुलाक बीच सम्झौता भएको छ । संघीय सरकारको १०० दिने कार्यसूची अनुसार समावेश गरिएको घरमै सेवा पुर्याउने कार्यक्रम अनुरुप यो सम्झौता गरिएको हो ।
बिहीबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे र जिल्ला हुलाक कार्यालय प्रमुख खेतबहादुर खत्रीबीच सम्झौता पत्रमा हस्ताक्षर गर्दै यो सेवाका लागि सम्झौता भएको हो । यो सम्झौता बिहीबारदेखि नै लागु हुनेछ । पहिलोपटक रेसुंगा नगरपालिका ११,१२ र १४ वडामा यो सेवा पुग्नेछ । १७ जनाको राहदानी बोकेर हुलाक कर्मचारी घरघरमै पुग्नेछन् ।
प्रमुख जिल्ला अधिकारी गैह्रेले स्पष्ट खाका, स्राेत र पर्याप्त साधन अभावका बीच पनि केन्द्रीय कार्यसूची अनुसार कार्यक्रम अगाडि बढाइएको बताए । ‘पहिलोपटक हामीले राहदानी घरघरमै पुर्याउन लागेका छौं’, उनले भने, ‘अन्य सेवाहरु पनि थप प्रभावकारी र एकीकृत ढंगबाट अगाडि बढाउँदै छौं ।’ राहदानी प्राप्त गरेपछि सेवाग्राहीले हुलाक दस्तुर प्रति राहदानी ५५ रुपैयाँ निर्धारण गरिएको छ ।
बिहीबारदेखि सम्झौतापछि सुरु हुने यो सेवा थप प्रभावकारी बनाउँदै अगाडि बढाउने योजना जिल्ला प्रशासन कार्यालय गुल्मीको छ ।









